गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीति दूषित भयो: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्।

ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्ने बताए । उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गरे।

अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन,यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन। यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ। जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ । राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,’ महामन्त्री थापाले भने।

मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाए।

प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उनले सङ्घीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताए।

बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाको विकास र समृद्धिको लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेको बताए।

बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक सङ्घीय संरचनामा गएपछि बनेको गोदावरी नगरपालिकाले आठौँ स्थापना दिवससम्म आइपुग्दा महत्वपूर्ण कार्यसम्पादन गरेको बताए।

उनले यस नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनको क्षेत्रमा नमूना नगरपालिकाका रुपमा विकास गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे।

त्यस्तै, बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्नेतर्फ विशेष महत्व दिएर मानव विकास, सामाजिक विकास र पूर्वाधार विकासमा लाग्न आग्रह गरे।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गोदावरी नगरपालिकाले नगरबासीको चाहना पूरा गर्न महत्वपूर्ण काम गरेको बताए। उनले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहना गरेबमोजिम सङ्घ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताए।

नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरुको गुनासोलाई सुझावका रुपमा लिएर काम गरिरहेको बताए। उनले सीमित स्रोत र साधनका बावजुद शिक्षा, स्वास्थ्यसँगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको बताए।

उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्रोतको अभावका कारण सबै वडा कार्यालय भवन बनिनसकेका बताए।