एमाले–माओवादी गठबन्धन टिकाउन चुनौती नै चुनौती,प्रचण्डलाई नेकपा एसले दियो चेतावनी

काठमाडौं। नेकपा एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन बनिनसक्दै अनेक आशंका र चुनौती थपिएका छन्। यही फागुन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्।

अघिल्लो गठबन्धनको सत्ता सहयात्री दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ।

छिटछिटो विकास भइरहेको राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतकै संकट पर्ने त हैन भन्ने विश्लेषण मात्र भइरहेका छैनन्,संकेत समेत देखिएका छन्। त्यही भएर प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटै विश्वासको मत लिएर ढुक्का हुने मुडमा पुगेका छन्।

एक वर्षअघि प्रधानमन्त्री बन्दा प्रचण्डले चलाखीपूर्वक एमालेसहितको सत्ता गठबन्धनका अलावा कांग्रेस र अन्य साना दलहरुको समेत विश्वासको मत बटुलेका थिए।

त्यसबेला सबैजसो दलले प्रचण्डलाई विश्वासको मत दिँदा संसदमा प्रतिपक्षी दल नै नरहने देखिएको थियो। एमालेको ढाडमा टेकेर प्रधानमन्त्री बनेका प्रचण्डले २ महिना नबित्दै कांग्रेसलाई समेत सत्तामा भित्र्याएपछि एमाले सरकारबाट बाहिरियो भने पछि एमालेले समर्थन फिर्ता लियो।

अहिले फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गएपछि कांग्रेस रुस्ट हुनुका साथै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप नै जारी गरेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ।

नयाँ गठबन्धनमा सहभागी भई सरकारमा गएको माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले विश्वासको मत नदिन सक्ने हाँक प्रचण्डलाई दिइसकेको छ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै उनलाई विश्वासको मत दिने नेकपा एसले निर्णय गरेको छ।

कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्री नै बन्न अफर गरिरहेका बेला उनको पार्टीको संसदीय दलको बैठकले प्रचण्डलाई चुनौती दिएको हो।

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टीले प्रधानमन्त्रीसँग अघि सारेका केही मागहरुको सुनुवाई नभए उनलाई विश्वासको मत दिइरहनुपर्ने जरुरी नभएको बताए।

उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीले आफ्नो पार्टीका मागप्रति लिखित सहमति जनाए मात्रै सघाउने नत्र मत दिन नसक्ने निर्णय रहेको सुनाए।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र माधव नेपाल प्रधानमन्त्री बन्ने आलापालोको सहमति समेत लत्याएर एमालेसँग नयाँ गठजोड गरेपछि दुवै नेता रिसाएका छन्।

प्रचण्ड र ओलीको विशेष आग्रहमा माधव नेपाल सरकारमा आफ्ना मन्त्री पठाउन तयार भए पनि भित्री रुपमा उनी प्रचण्डसँग खुसी छैनन्। उता देउवा भने जुनसुकै दलका नेतालाई प्रधानमन्त्री बनाइदिएर भए पनि प्रचण्डलाई सत्ताच्युत गर्ने रणनीतिमा लागेका छन्।

एमाले र माओवादीभित्रै प्रचण्डदेखि असन्तुष्ट रहेका जमातले समेत प्रचण्डलाई धोका दिन सक्छन्। यहीबीच प्रमुख सत्ता घटक दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण टिकाइराख्नु चुनौतीपूर्ण रहेको बताएका छन्।

उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले,स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक र अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई स्वदेशभित्रै पनि अनेक आशंकाले हेरिएको र छिमेकी देशहरुको समेत समर्थन रहने÷नरहने केही टुंगो नभएकाले टिकाउने कुरा चुनौतिको रुपमा रहेको स्वीकार गरे।

यो नयाँ समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्व–परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले कुनै पनि खालको बाह्य शक्तिको आशीर्वाद या दौडधुपबिना नै नयाँ सत्ता समिकरण बनेको बताए।

उनले मुलुकको बाह्य सम्बन्ध,अर्थतन्त्रको अवस्था,जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्सन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु,मुलुक चलाउने राज्यका सबै संयन्त्रहरु ठूलो संकटमा रहेको समेत बताएका छन्।

यी सबै संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने उनको भनाइ छ।

विश्वासको मतअघि २९ गते राष्ट्रिय सभाध्यक्षको निर्वाचन हुँदैछ। यसमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका सांसद एवं प्रधानमन्त्रीकै भाइ नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन्।

प्रचण्डप्रति परिवारवादको चर्को आरोप लागिरहेका बेला यस निर्वाचनको नतिजा कस्तो रहन्छ, त्यसले प्रधानमन्त्रीको विश्वासको मतलाई दिशानिर्देश गर्नेछ। हाल सरकारमा नेकपा एमाले,माओवादी,एकीकृत समाजवादी,रास्वपा र जसपाका गरी कुल १५० सांसद विश्वासको मत दिन योग्य छन्।