राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ। तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो।

बिहान ११ः०९ बजे बस्ने बैठकमा मतदान गर्ने कार्यसूची रहेको छ। सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन्। त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन्।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन्। एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन्।

राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्। फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चतप्राय छ । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन्।