सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं। सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ।

शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो।

यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन्।

कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिएका छन्।

अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिइएको ढकालले बताए।