सत्तारूढ दलले ‘न्यूनतम साझा’ कार्यक्रम आज सार्वजनिक गर्दै

काठमाडौं । सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेका थिए ।

मंगलबार बिहान १० बजे सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा.मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल थिए।