आजदेखि महराको बयान लिइँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण महरासँग आजदेखि बयान लिइने भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो।

सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो। पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको हो।

महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर बुधबारदेखि अनुसन्धान अगाडि बढाइने सीआईबीका एक अधिकारीले बताए।

यसअघिको अनुसन्धानमा औंल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ,त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढ्छ,उनले भने।

सीआईबीले अदालतमा महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन,२०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरिसककेको छ।

सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत,काठमाडौंले चार दिनको म्याद दिएको छ।