घरजग्गा,गाडी र सेयरमा खुकुलो सरकारी नीतिले सर्वसाधारणसँगै बैंक तथा वित्तिय संस्था नै डुबे

केही महिनाअघि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा बैंकमा भएको जनताको रकम सुरक्षित रहेको दाबी गर्दै निढुक्क भएर बचत गर्न आग्रह गरे। तर, अहिले ‘क’ वर्गकै बैंक घाटामा गएको र डुब्ने अवस्थामा पुगेको छ। बैंकहरुले तीन वर्षअघिको भ्यालसिनमा घरजग्गा,गाडी र सेयरमा कर्जा प्रवाह गरे।

तीन वर्षअघि घरजग्गा, गाडी र सेयरको मूल्य उच्च बिन्दुमा पुगेको थियो। बजार चर्किएको थियो। घरजग्गा आनाकै करोड पुगेको थियो। गाडी पनि नयाँ होस् या पुराना महंगो छ। झन् सेयर त पाँच हजार कित्तासम्म पुगेको थियो। घरजग्गा,गाडी र सेयरको मूल्य यति धेरै बढेको देखेर बैंकहरुले यो वस्तु राखेर चिनेको व्यक्तिलाई ८० प्रतिशत र नचिनेकोलाई ६० प्रतिशतसम्म कर्जा प्रवाह गप्यो।

आम सर्वसाधारण, पहुँच नभएकाहरुले बैंकबाट ऋण नै पाएनन्। ५० लाखको धितो राख्छु, पाँच लाख ऋण दिनुस् भन्दा समेत उनीहरुले कर्जा पाएनन्। किनकि उनीहरुले न त बैंकका सञ्चालक, कर्मचारीलाई घुस दिन सक्छन् न त नक्कली डकुमेन्ट नै बनाउन सक्छन्। बैंकका सञ्चालक र कर्मचारीहरुले घुस खाएर आफन्त, व्यापारीहरुलाई करोडको धितो राखेर अर्ब कर्जा प्रवाह गरे।

पछिल्लो समय बजारमा घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छाएको छ। बजार नै मन्दीमा गएको छ। बैंकबाट ऋण लिएको ऋणीले मासिक रुपमा कित्ता तिरेको भए साँबा र ब्याज नै घट्थ्यो। बजारमा मन्दी नआएको भए तीन वर्षअघि ६० लाखमा किनेको जग्गा अहिले करोड पुग्थ्यो। गाडी र सेयरको पनि मूल्य त्यत्तिकै बढ्थ्यो।

बिडम्वना, तीन वर्षअघि ६० लाखमा किनेको सेयर अहिले लाखमा बिक्री नहुने अवस्था आएको छ। गाडी र सेयरको पनि अवस्था उही छ। २५ लाखमा किनेको गाडी पाँच लाखमा बिक्दैंन। ३५ सयको सेयर एक सयमा झरेको छ। बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य घट्दै गएको छ। यसले गर्दा बैंकको लगानी जोखिममा परेको हो।

किनकि बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण कर्जा लगानी यही घरजग्गा, गाडी र सेयरमा छ। मालपोत र यातायातमा घरजग्गा र गाडीको किनबेच, नामसारी ठप्प छ। सेयरको पनि प्रत्येक दिन मूल्य घटिरहेको छ। बैंक डुब्छ, हाम्रो निक्षेप डुब्छ भनेर आम सर्वसाधारणले थाहा पाइसकेका छन्। केही महिनायता नाम चलेकै बैंकहरु घाटामा गएको वा कर्जा उठाउन नसकेको समाचार बाहिरिएका छन्।

बैंक डुब्छ भनेर बजारमा हल्ला चलिसकेको छ। बैंकमा पैसा निकाल्नेको भीड बढेको छ भने कर्जा लिने कोही छैन। बैंकहरुले लिलाम गरेको धितो पनि बिक्री भएको छैन। अब बैंकले कसरी बचतकर्ताको रकमको ब्याज दिन्छ ? कसरी कर्मचारीलाई तलब दिन्छ ? घरभाडा कसरी दिन्छ? र, दैनिक खर्च कसरी धान्छ ?

अहिले बैंक पनि सहकारीकै हालतमा पुगेको छ। बजारमा घरजग्गा,गाडी र सेयर बेच्न चाहने यत्तिकै भेटिन्छन्। तर, किन्ने मान्छे कोही छैन। अहिले व्यापार, व्यवसाय गर्नेहरुले पनि बैंकबाट ऋण लिएका छैनन्। लिएको ऋण समेत उनीहरुले तिर्न सकेका छैनन्। उनीहरु भन्छन्,पसल खोल्नु मात्र हो। बहनी समेत हुँदैन।

पछिल्लो समय कोठा, सटर र फ्रल्याट पनि धमाधम खाली भएका छन्। अधिंकाश व्यवसायी पलायन भइसकेका छन्। यता, आम सर्वसाधारण वा व्यापारीहरुले पैसा जति सबै घरमा लुकाएका छन्। प्रत्येक दिन बजारमा मन्दी बढ्दै गएको छ। बेरोजगारी हवात्तै बढेको छ। महंगोले सीमा नाघेको छ। लुटपाट, चोरीका घटना बढेका छन् भने बाटोमा माग्नेको संख्यामा पनि वृद्धि भएको छ।

घरधनीहरु भन्छन्, ‘वर्ष दिन हुन थालिसक्यो सटर खाली भएको। घटाएर दिन्छु भन्दा पनि कोही आउँदैन। पुराना व्यवसायीहरु मन्दीका कारण डुबिहाले। अनि नयाँ व्यवसायीहरु पनि मन्दीका कारण आउन चाहदैंन। अहिले व्यापारीहरु पनि पर्ख र हेरको अवस्थामा छन् । यो अवस्थामा कोही पनि बैंकबाट ऋण लिएर व्यापारव्यवसाय गर्न चाहदैंनन्।

२० वर्षअगाडि नै राष्ट्र बैंक र अर्थ मन्त्रालयले घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाहमा कडाई गरेको भए आज यो अवस्था आउँदैंन्थ्यो । दलालीहरुले आफु धनी हुनुका लागि रातारात यी वस्तुको मूल्य बढाए र आम सर्वसाधारणलाई फसाए । सर्वसाधारणलाई मात्र नडुबाई दलालीहरुले बैंक तथा वित्तिय संस्थालाई समेत डुबाए।

तर, दलालीहरुको यो रणनीति न सर्वसाधारणले बुझे न त सरकारले। दलालीहरुले कसरी आम सर्वसाधारण र बैंकलाई फसाएर भनेर भन्नुपर्दा तीन दशकअघि एउटा आनाको ५० हजारमा जग्गा किन्यो। किनेको दुई वर्षमै उसले नाफा खाएर पाँच लाखमा बेच्यो। पाँच लाखमा किन्ने तीन वर्षपछि २० लाखमा बेच्यो। अनि त्यो किन्नेले सात वर्षपछि ४५ लाखमा बेच्यो।

४५ लाखमा किन्नेले दश वर्षपछि ८० लाखमा बेच्यो। जग्गा त्यति नै हो। न त जग्गाको लम्बाई बढेको छ न त चौडाई तर मूल्य भने हवात्तै बढ्यो। अनि यो मूल्य बढाउने पनि दलाली नै हो। सेयरमा पनि त्यही भयो। बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीले ३२ सय पुप्यायो। भारतमा एक लाखमा पाइने गाडी नेपालमा ल्याएर ३० लाखमा बेचियो।

बैंक, लघुवित्त र सहकारीले कर्जा प्रवाह गरेको क्षेत्रबारे राष्ट्र बैंक वा अर्थ मन्त्रालयले अनुगमन वा अध्ययन गर्ने हो भने यी तीन क्षेत्रमा मात्र कर्जा प्रवाह गरेको पाइनेछ। दलालीहरुले राज्यको आँखा छले र बैंकका सञ्चालक र कर्मचारीहरुलाई आफ्नो मुठीमा लिए। अहिले आएर आम सर्वसाधारण डुब्नु परेको छ।

बैंक र सहकारीमा भएको रकम जनता कै हो। अनि बैंक र सहकारी डुब्नु भनेको जनता डुब्नु बराबर हो। यसरी राष्ट्र बैंक र अर्थ मन्त्रालयले समयमै कर्जा प्रवाहमा कडाई नगर्दा आज सर्वसाधारणको रकम जोखिममा परेको छ। मुलुकमा कृषि र भूमि दुवै मन्त्रालय छ। कृषि मन्त्रालयको काम कृषिमा वृद्धि गर्नु हो। भने भूमि मन्त्रालयको काम भूमिको संरक्षण गर्नु हो।

तर, अहिले यी मन्त्रालयहरुको केही काम नै छैन। कृषि मन्त्रालय विदेशबाट मात्र खाद्यान्न आयात गरिरहेको हुन्छ भने हाम्रो देशको भूमि जति सबै घर र बाटो बनाउँदा मासिसकेको छ। अनि किन चाहियो यी मन्त्रालय ? अहिले मुलुकमा सबै खाद्यान्न विदेशबाट आयात गरिन्छ। तर, कति खाद्यान्न आयात भयो ? खाद्यान्न खरिद गर्दा कति रकम विदेशियो ? भनेर सरकार जनतालाई भन्दैन।

जनताको भान्छामा पाक्ने हरेक वस्तु विदेशबाट आयात गरिएको छ। कुहिएको,बिग्रिएको,विषादी प्रयोग गरिएको खानेकुरा महंगो मूल्यमा किनेर खान जनता बाध्य छन्। यसले एकातिर खाद्यान्न किन्दा नेपालको पैसा विदेशिएको छ र व्यापार घाटा बढेको छ भने अर्कोतिर जनताले महंगो पैसा तिरेर समेत गुणस्तरीय खानेकुरा खान पाएका छैनन्।

देशको खेतीयोग्य जमिन सबै घर, बाटो बनाउँदा वा प्लानिङ गर्दा सकिसक्यो। तर, अहिले पनि भूमि विभाग मासिक घरजग्गा कारोबार यति भयो भन्दै तंथ्याक सार्वजनिक गर्छ।

छिमेकी मुलुकहरुले खाद्यान्न बेचेर महिनैपिच्छे खर्बो रकम लगेको तंथ्याक न सरकार सार्वजनिक गर्छ न त सम्बन्धित निकाय। तर, घरजग्गा कारोबार यति भयो भन्दै तंथ्याक सार्वजनिक गरिन्छ। सरकारकै कारण मुलुकको खेतीयोग्य जमिन त सकियो नै सँगै बैंक र सर्वसाधारण पनि डुब्ने अवस्थामा पुगेका छन्।