नियमविपरीत यूएई एजेन्टको म्याद थप्दै निगम

काठमाडौं। नेपाल वायुसेवा निगमको उच्च व्यवस्थापनले नियमविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) मा टिकट तथा कार्गो कारोबार गर्ने एजेन्टको म्याद थपको प्रक्रिया अगाडि बढाएको छ ।

सम्झौता अवधि सकिएपछि पनि टेन्डर नगरी ३९ महिनादेखि जिम्मेवारी दिइएको कम्पनीलाई पुनः तीन वर्ष म्याद थप्न निगम व्यवस्थापनले सञ्चालक समितिमा प्रस्ताव पेस गरेको हो ।

निगमको वाणिज्य विभाग स्रोतका अनुसार अरबी एजेन्ट कम्पनी अजमान नेसनल ट्राभल एजेन्सी (एन्टा) ले यूएईमा टिकट तथा कार्गो कारोबारको जिम्मा सम्हाल्दै आएको छ ।

कम्पनीको ठेक्का सम्झौता ०७७ पुसमा नै सकिसकेको छ । तर, तीन वर्षदेखि निगम व्यवस्थापनले कम्पनीको पटके म्याद थप्दै आएको थियो ।

सोही कम्पनीलाई पुनः तीन वर्ष म्याद थप्न यही चैत २ मा निगमको सञ्चालक समितिमा प्रस्ताव पेस भई अन्तिम कानुनी रायका लागि अघि बढाइएको छ । सञ्चालक समितिले एकाएक तीन वर्ष म्याद थप्ने प्रस्ताव अगाडि बढाएपछि निगममा उच्च तहका कर्मचारीहरूले आपत्ति व्यक्त गरेको स्रोतले जनाएको छ ।

 हामीलाई प्राप्त सञ्चालक समितिको गोप्य पत्रमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले एन्टाको म्याद थप्ने प्रस्ताव गरेको उल्लेख छ ।

‘कार्यकारी अध्यक्ष अधिकारीले सञ्चालक समितिको ३८ औं बैठकमा संयुक्त अरब इमिरेट्सको जनरल सेल्स एजेन्ट (कार्गो तथा यात्रु) को म्याद नवीकरण सम्बन्धमा प्रस्ताव पेस गर्नुभयो,’ उक्त बैठकसँग सम्बन्धित निगमका एक अधिकारीले भने ।

यस सम्बन्धमा प्रतिक्रिया लिन कान्तिपुरले प्रयास गर्दा अध्यक्ष अधिकारी र निगमका प्रवक्ता रमेश पौडेल सम्पर्कमा आएनन् ।

निगमले यूएईमा एयरबसका न्यारोबडी र वाइडबडी विमानबाट उडान सुरु गर्ने निर्णय गरेपछि ०७२ सालमा कम्पनीले टेन्डरबाट कारोबारको जिम्मा पाएको थियो ।

त्यसबेला निगमको कार्यकारी प्रमुख सुगतरत्न कंसाकार थिए । उनले एन्टालाई ५ वर्षका लागि ठेक्का दिएका थिए । कंसाकारपछि निगमको कार्यकारी प्रमुखमा मदन खरेल, डिमप्रकाश पौडेल हुँदै युवराज अधिकारी आए ।

नियमअनुसार यसबीचको ९ वर्षमा दोस्रो पटक टेन्डर भइसक्नुपर्ने थियो । तर एन्टाले निरन्तरता पाइरह्यो । स्रोतका अनुसार, टिकट बिक्री र कार्गोको कमिसनबापत कम्पनीले वार्षिक कम्तीमा ५ करोड रुपैयाँ निगमबाट लिँदै आएको छ ।

निगमको एजेन्ट (जीएसए) सम्बन्धी विनियमावलीमा कुनै पनि एजेन्टको ५ वर्षको कार्यसम्पादन मूल्यांकन सन्तोषजनक लागेमा सञ्चालक समितिले एक पटकका लागि थप ३ वर्ष म्याद थप्न सक्ने प्रावधान छ । तर, यो कम्पनीले विभिन्न बहाना देखाएर २० पटकभन्दा बढी पटके म्याद थपेर काम गर्दै आएको छ ।

कहिले कोभिडको बहानामा कहिले नयाँ ठेक्का प्रक्रिया सुरु नभएको बहानामा एक महिना, दुई महिना गर्दै बीसौं पटक म्याद थपिएको निगमको रेकर्डमा देखिन्छ,’ निगम स्रोतले भन्यो ।

पहिलो ५ वर्ष सकिएपछि तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले टेन्डर निकालेका थिए । दुई वर्षअघिको उक्त टेन्डरबाट अल नोबाधा ट्राभल छानिएको थियो । तर, एन्टाले त्यहाँको कानुनअनुसार अल नोबाधालाई ‘नो अब्जेक्सन’ पत्र नदिँदा प्रक्रिया नै रोकिएको थियो ।

निगमले हङकङ, थाइल्यान्ड, मलेसिया, जापानमा आफ्नै कार्यालयमार्फत यात्रु तथा कार्गोसम्बन्धी कारोबार गर्दै आएको छ । तर, यूएई, साउदी अरब, दोहा, दिल्ली, मुम्बई र बैङलुरुमा निगमले एजेन्ट कम्पनीमार्फत यात्रु तथा कार्गोसम्बन्धी कारोबार गर्छन् । ती एजेन्टले कारोबारका आधारमा कमिसन प्राप्त गर्छन्। कन्तिपुतबाट