बेलायत,अस्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। बेलायत, अस्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ३ जनालाई पक्राउ गरेको हो।

काठमाडौंको शंखरापुरका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ का ३९ वर्षीया राममाया गुरुङ पक्राउ परेका छन्।

आचार्यले बेलायत पठाइदिने भन्दै १६ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनले बेलायतमा ‘वर्किङ भिसा’मा पठाउने भन्दै नक्कली ‘अफर लेटर’समेत देखाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए।

त्यसैगरी अधिकारीले अस्ट्रेलिया पठाइदिने भनेर १२ लाख ठगी गरेको आरोप लागेको छ। उनले अर्जुन तामाङ नाम गरेका व्यक्तिलाई अस्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ।

गुरुङले आकर्षक तलबमा माल्दिभ्स पठाउने भन्दै नक्कली भिसा देखाएर ३ लाख ठगी गरेको आरोप छ। पक्राउ परेका सबैलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइने एसपी पोखरेलले बताए।