देशभर एसईईको पहिलो दिन शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ। आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा धेरै केन्द्र काठमाडौंमा (१२७) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (एक–एक) वटा छन्।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए।

यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी भएका छन्। एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन। त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन्।