नयाँ समीकरण भएकाे १ महिनामै धेरै काम भएका छन्: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण सहितको सरकार बनेको एक महिनामै धेरै राम्रो काम भएको बताएका छन्।

मकवानपुरमा शुक्रबार नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको बताएका हुन्।

प्रचण्डले भने, ‘नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ।

विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने दाबी गरे।

दिनदिनै काठमाडौंमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ, सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने पनि बताए। उनले भने,आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको छ।