कांग्रेस सुध्रिए मात्र लोकतन्त्र सुदृढ हुन्छ: उपसभापति गुरुङ

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ्गले कांग्रेस सुध्रिए लोकतन्त्र सुदृढ हुने बताएका छन्।

कांग्रेसका हरेक नेताले बोली र व्यवहारमा एकरूपता ल्याउन सकेमात्र जनताले कांग्रेसलाई साथ दिने कुरामा गुरुङले जोड दिए।

गुरुङले सो कुरा शुक्रवार नेपाल प्रेस युनियन जिल्ला शाखा सुनसरीले इटहरीमा आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यम भूमिका विषयक अन्तरक्रियामा बताएका हुन्।

गुरुङले आफू कृष्ण प्रसाद भट्टराई,सुशील र बीपि कोइरालाको अनुयायी भएको बताउँदै जनताको घर बनोस भन्ने बीपि,रित्तो हात डेरा फर्कने भट्टराई र मुलुकलाई सिङ्गो संविधान दिने सुशीलबाट पाठ सिक्नु पर्ने बताए।

साथै उनले झुपडीमा जन्मिएको कुराले गर्व गर्छौँ भन्ने नेताहरूले सत्तामा पुग्ना साथ राजधानीमा महल ठडाउने गलत प्रवृत्ति बन्द गरौं भने।

कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार संबिधानत पूरा कार्यकाल सञ्चालन हुने बताएका छन्।

कार्कीले यो सरकारले मध्यावधि पनि गराउँदैन, अव २ वर्ष विश्वासको मत लिन पनि पर्दैन भन्दै उनले बागमती प्रदेशमा सरकार परिवर्तनको स्याल कराई सुरु भए पनि कोशीमा स्याल कराउन नसक्ने बताए।

उनले कोशी प्रदेश सरकारका बारेमा चित्ता लिनु आवश्यक छैन भन्दै सरकार परिवर्तन के हुन्छ भनी गरिने प्रश्न र प्रश्नकर्तालाई गहिरिएर संविधान हेर्न सुझाए।

साथै मुख्य मन्त्री कार्कीले पत्रकारको कलमले सुन्दर समाजको निर्माण गर्न सक्ने बताए। उनले सञ्चार माध्यमले समाजमा लागेको आगो निभाउन सक्ने तागत राख्ने बताउँदै सञ्चार कर्मलाई लोकतन्त्रको संस्थागत विकासमा लगाउन आग्रह गरे।

नेपाल प्रेस युनियनको इटहरीमा हुने केन्द्रीय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा सुनसरी शाखाले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

शाखा अध्यक्ष ध्रुव ढकालको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल,काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा,काँग्रेस जिल्ला सभापति केदार ढुङ्गाना लगायतले धारणा राखेका थिए।