काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

सभापति देउवाले उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गर्न आफ्नो निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।

आगामी वैशाख १५ मा हुने इलाम— २ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस आन्तरिक छलफलमा जुटेको छ।

उम्मेदवारको टुङ्गो लगाउन कांग्रेसले मंगलबार कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। कार्यसम्पादन समितिको बैठकअघि पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल हुन लागेको हो।

छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम—२ को उम्मेदवारका सन्दर्भमा रिपोर्ट राख्ने छन्। कांग्रेसले महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेलाई इलाम—२ को अध्ययन गर्न जिम्मेवारी दिएको थियो।

निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन्।

इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ।

टिकटका लागि मुख्य प्रतिस्पर्धा खड्का र आचार्यबिच देखिन्छ। सभापति देउवा खड्कालाई टिकट दिने मुडमा छन् भने नेता शेखर कोइरालाले आचार्यका लागि लबिङ गरिरहेका छन्।

कांग्रेसका मातहत कमिटीले बझाङ प्रदेशसभा (१)का लागि १० जनाको नाम सिफारिस गरेको छ।

जसमा सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ। बझाङ प्रदेशसभा १ मा जगत जोशी र अभिषेक सिंहबिच टिकटका लागि हानथाप छ।

जोशी कांग्रेसका पुराना नेता हुन् भने सिंह यसअघि निर्वाचित स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा हुन्।