रेशम पक्षले बोलायो केन्द्रीय समिति बैठक

फाइल तस्वीर

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ। २७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो।

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय समितिलाई नै निरन्तरता दिएको छ। तर पहिलो महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

नाउपाको पार्टी कार्यालय काठमाडौँमा २३ र २४ गते बस्ने बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै उपस्थितिका लागि अनुरोध गरिएको छ।

नाउपामा संरक्षक रेशम र अध्यक्ष रञ्जिताबीच विवाद चलिरहेका बेला महासचिव चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको बैठक बोलाएका हुन्। जबकी उक्त कार्य समितिलाई निर्वाचन आयोगले यसअघि नै अवैध ठहर गरिसकेको छ।