उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

फाइल तस्वीर

काठमाडौं। भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका लागि आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ।

नेपालले लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै फाइनलमा आइपुगेको हो। गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो। त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए।

नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ। साविक विजेता रहेको नेपाल एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम छ।

एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो। उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो।

भारत भ्रमण र त्यसपछि एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन्।