सभामुखले प्रमुख ४ दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफल गर्न बोलाएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

सभामुखले आज बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ।

गत २१ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक भालि मंगलबार बोलाइएको छ। तर, सत्तारुढ दलले कांग्रेसको मागअनुसार समिति गठन नहुने बताउँदै आएका छन्।