आज घोडेजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकला प्रदर्शन गर्छ। यही दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।