कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसले आइतबार संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।

आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन्।

संसदीय दलको कार्यसमितिमा भने संसदीय दलका नेता, उपनेता, राष्ट्रियसभा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र पार्टीका महामन्त्री पदेन सदस्य रहनेछन् । कांग्रेसमा हाल सभापति शेरबहादुर देउवा संसदीय दलका नेता छन् भने उपनेता पनि चयन भएका छैनन्।

संसदीय दलमा प्रदेशका सम्पूर्ण संघीय सांसदमध्येबाट एक एक जना गरी ७ जना, कम्तीमा पाँच जना महिला रहने गरी दुई जना खस आर्य, दुई आदिवासी जनाजाति, दुई मधेशी, दुई दलित, एक थारु, एक मुस्लिम, एक पिछडिएको क्षेत्रका सदस्य गरी ११ जना निर्वाचित हुनेछन्।

त्यस्तै भौगोलिक आधार, समावेशी प्रतिनिधित्वलगायतका आधारमा सन्तुलन मिलाएर एक तिहाइ महिला सदस्य सुनिश्चित हुने गरी संसदीय दलको नेताले पाँच जना मनोनित गर्नेछन्।

कांग्रेसले संसदीय दलको कार्यसमितिमा निर्वाचित र मनोनित सदस्य पनि चयन गरेको छैन।