सहकारी ठगीको छानबिन गर्न समिति नबनेसम्म सदन चल्दैन: नेता कोइराला

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने बताएका छन्। उनले सुशासन सिकाउने पार्टी र त्यही पार्टीका सभापति सहकारी ठगीमा मुछिएकाले संसदीय छानबिन समिति बनाउन डराउन नहुने पनि बताए।

आज चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई सुशासनको पक्षधर बताउने पार्टीका सभापति नै सहकारी ठगीमा मुछिएकाले ती पार्टीले कांग्रेसलाई सुशासन सिकाउन नमिल्ने बताए।

उनले इलामबाट कांग्रेसका उमेदवारलाई जिताउन पनि आग्रह गरे। रुख चिह्नमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनुहोस्, इलाम–२ को विकासको जिम्मा म लिन्छु,उनले भने। नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए।

कांग्रेस सधैँ पहिचान,पहुँच र प्रतिनिधित्वको पक्षमा रहेको बताउँदै उनले कांग्रेसबाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। उनले पहिचान चाहनहरूले कांग्रेसका उमेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे।