वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं। दोस्रो टी-२० खेलमा नेपाललाई वेस्ट इन्डिजको ‘ए’ टिमले १६१ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले ७ विकेटको क्षतिमा १६० रन जोड्यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सबैभन्दा बढी ४३ रन जोडे। १८औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच हुनुअघि उनले ३६ बलमा ३ छक्का प्रहार गरे।

त्यसअघि तेस्रो ओभरमा सागर ढकालले वेस्ट इन्डिजका दुवै ओपनरलाई पेभिलियनको बाटो देखाए। सागरले दोस्रो बलमा उपकप्तान एलिक एथानाजलाई ६ रनमा कुशल मल्लबाट क्याच गराए। पाँचौ बलमा जोनसन चार्ल्स ११ रनमा बोल्ड गरे। चार ओभरमा सागरले १९ रन खर्चिए।

दशौं ओभरको अन्तिम बलमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोस्टन चेजलाई २३ रनमा आउट गर्‍यो। कुशल भुर्तेलले उनलाई बोल्ड गरे।

त्यतिबेला वेस्ट इन्डिजले १० ओभरमा ६४ रन मात्र जोडेको थियो। व्यक्तिगत दोस्रो विकेट लिने क्रममा भुर्तेलले केसी कार्टीलाई १० रनमा आउट गरेका थिए।सागर र कुशलले उत्कृष्ट स्पिन बलिङ गरेपछि सुरुवातमा वेस्ट इन्डिजका ब्याटर चल्न सकेनन्।

१७औं ओभरमा किमो पल सोमपाल कामीको बलमा बोल्ड हुन पुगे। उनले ८ रन मात्र जोड्न सके। १८औं ओभरमा हेडन वाल्सलाई रोहित पौडेलले ९ रनमा रनआउटको सिकार बनाए।१९औं ओभरमा वेस्ट इन्डिजका ब्याटर आकास चन्दलाई १९ रन प्रहार गरे।

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीविरुद्ध वेस्ट इन्डिजले २२ रन प्रहार गर्‍यो। जसमा गुणाकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको मद्दतमा नटआउट ३३ रन र म्याथ्यु फोर्डले ६ बलमा नटआउट ११ रन जोडे।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले २/२ विकेट लिए। सोमापल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट हात पारे।