२८ सहसचिव सरुवा, को कहाँ पुगे त ?

काठमाडौं। २८ सहसचिवको सरुवामा सबैभन्दा उद्योग मन्त्रालयका परेका छन्। उद्योग मन्त्रालयबाट चन्द्रकला पौडेल, बाबुराम गौतम, लीलाप्रसाद शर्मा र गजेन्द्रकुमार ठाकुरको सरुवा भएको छ।

चन्द्रकला करिब ३ बर्षदेखि उद्योग मन्त्रालयमै कार्यरत थिइन्। अन्तिम समयसम्म उद्योग विभागको महानिर्देशक बन्न प्रयासमा रहेकी पौडेलको त्यो चाहना भने पूरा नहुँदै उनी उद्योगबाट बाहिरिएकी छन्।

मन्त्रालय प्रवेशदेखि सरुवा नभएसम्म आकर्षक मानिने औद्योगिक पूर्वाधार महाशाखामा कार्यरत पौडेलको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ।

सहसचिव बाबुराम गौतम राजस्व समूहको उपसचिवबाट खुल्ला प्रतिस्पर्धामा सहसचिव भएका हुन्। उनी अर्थको क्याडर भएकाले सचिव मधु मरासिनीको रोजाइमा उतै पुगेका छन्।

उद्योग मन्त्रालयमा रहँदा औद्योगिक प्रबद्र्धन महाशाखा,कर्मचारी प्रशासन महाशाखा र उद्योग विभागको महानिर्देशक समेत करिब ९ महिना भएका थिए।

उनको कार्यकालमा विभागको उद्योगमैत्री छवि कायम हुन नसकेको बताइन्छ। गौतमलाई अर्थमा महत्वपूर्ण महाशाखाको प्रमुख बनाउने गरी सचिव मरासिनीले लगेको बताइन्छ।

बाणिज्य विभागको महानिर्देशकबाट ३ महिनामै मन्त्रालयमा तानिएका लीलाप्रसाद शर्मा रक्षा मन्त्रालय पुगेका छन्। उनको रोजाइ अर्थ र गृहमन्त्रालय भए पनि रक्षामा जानुपरेको छ।

बाणिज्यकै डीजीबाट मन्त्रालयको आपूर्ति ब्यवस्थापन महाशाखाको प्रमुख रहेका गजेन्द्रकुमार ठाकुर संचार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

उद्योगमा हालै बढुवा भएका देवराज जोशीलाई लगिएको छ। सुदूरपश्चिमका जोशीलाई मन्त्री दामोदर भण्डारीको रोजाइमा लगिएको बताइन्छ। उनलाई मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाको जिम्मेवारी दिने तयारी छ।

उद्योगकै अन्य सहसचिवहरु बाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवाल, मन्त्रालयका छवि रिजालको भने लगानी सम्मेलन लगत्तै सरुवा गर्ने तयारी छ।

मन्त्रीका निजी सचिव विवेक घिमिरेको रोजाइमा रहेका कर्मचारीहरुलाई छानीछानी मन्त्रालय भित्र्याउनका लागि मन्त्री भण्डारीले ठूलो साथ सहयोग रहेको छ। भण्डारी मन्त्रालयमा बहाली भएदेखि नै सरुवामा विशेष रुची राख्दैआएका छन्।

कर्मचारी प्रशासन शाखाका घनश्याम सुवेदी, अर्का उपसचिव लीलाधर अधिकारी र निजी सचिव घिमिरेको दैनिकी नै कर्मचारीको सरुवाको सूची बनाउने र कार्यान्वयन गर्ने गराउनेतिर केन्द्रित छ।

लगानी सम्मेलनको चटारोलाई छाडेर मन्त्रालयको नेतृत्व सरुवामै रमाउँदैआएको छ। निजी सचिव घिमिरे र स्वकीय सचिव लोकेन्द्र भण्डारीले कार्यकक्षमै सहसचिवदेखि मुनिका कर्मचारीहरुलाई बोलाएर सेनाको शैलीमा निर्देशन दिंदैआएको गुनासो छ।

त्यस्तै,रक्षाका सहसचिव बाबुराम अधिकारी उद्योग मन्त्रालयमा सरुवा भएका छन्। उनी आगामी दर्शैैंअघि नै सचिवमा बढुवा हुने सहसचिव हुन्।

अर्थ मन्त्रालयका लक्ष्मीप्रसाद निरौला उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन्। उनी उद्योग विभागको महानिर्देशक हुनका लागि सरुवा भएको बताइन्छ।

एमाले अध्यक्ष केपी ओलीकै गृहजिल्लामात्र होइन,घर नै सँगै भएकाले उनी उद्योग विभागको डीजी हुने लगभग पक्का रहेको छ। विभागका हालका डीजी यज्ञ कोइराला सरुवा भएको ३ महिना पनि पुगेको छैन।

त्यस्तै, उपसचिव हुँदा नगरपालिकाहरु र सहसचिव भएपछि उपमहानगर र महानगरपालिकामात्रै सरुवा हुँदैआएका वीरेन्द्रदेव भारती मेयर रेणु दाहालको रोजाइमा भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्।

बुढानीलकन्ठ,गोकर्णेश्वर,बुटवल,पोखरा,ललितपुर र अहिले भरतपुर महानगरमा पुगेका भारती कमल थापा संघीय मामिला मन्त्री हुँदा उनका निजी सचिवसमेत भएर काम गरेका थिए।

पानीजहाज कार्यालयमा लामो समयदेखि कार्यरत प्राविधिक सहसचिव विपिन राजभण्डारी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन्।

अर्का प्राविधिक सहसचिव प्रेमकुमार सिंहलाई मधेश प्रदेशबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ। उनी प्रायः आकर्षक मानिएका तत्कालीन बागमती यातायात कार्यालयमा लामो समय बसी अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन्।

प्राविधिक सहसचिव शैलेशकुमार झा १ बर्षमै ४ पटक सरुवा हुने कर्मचारीमा परेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरतलाई उनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरियो।

गुणस्तर बिभागको महानिर्देशक रहेका दीनानाथ मिश्रलाई फेरि विज्ञान प्रबिधिमा ल्याएपछि झालाई केही महिनामै उद्योग मन्त्रालयमा सरुवा गरियो।

झाको दरबन्दी गुणस्तर विभागमा भए पनि उनी मन्त्रालयमै हाजिर गरेर बसिरहे। असन्तुष्ट भई जिम्मेवारी नलिएका उनै झालाई अहिले वन मन्त्रालयमै सरुवा गरिएको छ।