अन्तत: वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी फुट्यो,यी केन्द्रीय नेताहरूले गरे विद्रोह

काठमाडौं। मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल फुटेको छ।वैद्यको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका १० जना केन्द्रीय नेताहरूले अलग हुने घोषणा गरेका छन्। सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले अलग भएको घोषणा गरेका हुन्।

वैद्य माओवादीले वैशाख १९ गते नेकपा (मशाल)सँग पार्टी एकता गर्दैछ। सोही एकताप्रति असन्तुष्ट समूहले पार्टीबाट विद्रोह गरेको हो। केन्द्रीय सचिवालय सदस्य समरजङले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘विश्व साम्राज्यवादले सच्चा कम्युनिस्टहरूमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान् विचारको उच्चतम चरण माओवादलाई लत्त्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरूसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छैन।

उनीहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरङ्कुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको पनि आरोप लगाएका छन्। साथै, २०८० वैशाख १८ गते नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीबीच भएको पार्टी एकता भंग भएको घोषणा पनि गरेका छन्।

यसैबीच, पार्टीको एकता विपरीत गुटगत गतिविधिमा संलग्न रहेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यद्वय पूर्णबहादुर सिंह,खेम थपलिया र केन्द्रीय सदस्यहरु हरि श्रेष्ठ, विनोद थापा,अशोक सुवेदी,शम्भु फुयाँल,नवराज भट्ट,बद्री चौलागाई,रणबहादुर विक र केन्द्रीय सल्लाहकार ढुण्डीराजलाई पार्टीबाट निष्काशन गरेको जनाएको छ।