प्रचण्ड सरकार संकटमा,माधव र उपेन्द्रको धोका दिने संकेत

काठमाडौं। पछिल्लो समय सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको मुख्य दल नेकपा एमालेका अध्यक्ष केपी ओली लक्षित कडा अभिव्यक्ति दिइरहेका छन्।

उनले सत्ता गठबन्धनमा आफूलाई सहज नरहेको भन्दै काँग्रेस लगायत दलको साथ पाएमा आफै प्रधानमन्त्री बन्ने दाउमा देखिन्छन्। आफू प्रधानमन्त्री बनिहाल्छु कि भन्ने डरले कसै कसैलाई पोल्न थालेको उनले बताएका छन्।

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्ने कुराले ओलीलाई पोल्न थालेको बताए। जसले जे भने पनि आफ्नो लागि अनुकुल वातावरण बनाउने कुरामा आफूले ध्यान दिइरहेको नेपालले बताए।

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि,जनतालाई न्याय र महिलाहरुलाई अधिकार दिलाउनका लागि महत्वपूर्ण भुमिका आफूले खेलेको बताउँदै उनले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए।

विगतमा ओलीले दुईपटक संसद विघटन गरेर गल्ती गरेँ भन्ने कुरा अहिलेसम्म स्वीकार्न नसकेको माधवको भनाइ छ।

यसअघि वैशाख १० गते माधव नेपालले एमालेको केन्द्रिय कार्यालय च्यासलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अघि गठबन्धनमा आफू बस्न नसक्ने अभिव्यक्ति दिएका थिए।

दिवंगत कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा माधवले माओवादी–एमाले नेतृत्वको सत्ता गठबन्धनमा आफूलाई सहज नरहेको बताए।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले कसैका धाक,धम्की,गालीगलौज सुन्दै दास बन्नका लागि आफूहरू राजनीतिमा नआएको बताएका थिए।

तर सोही दिन एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको हीरक महोत्सवमा भने माधव उपस्थित भएनन्। प्रचण्ड सहभागी कार्यक्रममा उपस्थित भए पनि ओली सहभागी कार्यक्रममा माधव जान मान्दैनन्।

एमालेले आफ्नो निम्तो अस्वीकार गरेर माधव कार्यक्रममा नआएपछि असन्तुष्टि नै जाहेर ग¥यो। जबकि उक्त कार्यक्रममा विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रमुख नेताहरु उपस्थित थिए। तर,सत्ताबन्धनकै प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल नगएपछि गठबन्धनमा तालमेल छैन भन्ने सन्देश बाहिरियो।

माधव नेपालले पछिल्लो समय गठबन्धनका हर्ताकर्ता प्रधानमन्त्री प्रचण्ड र ओलीसँग कटुता पोखिरहेका छन्। र,उनी काँग्रेस सभापति देउवासँग भित्रभित्रै भेटिरहेका पनि छन्।

काँग्रेसले साथ दिएमा आफै प्रधानमन्त्री बन्ने लाइनमा रहेको उनका पछिल्ला गतिविधिले पुष्टि गर्दै आएको छ। गत फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवाले माधवलाई प्रधानमन्त्री बन्न अफर नै गरेका थिए।

जसरी भए पनि प्रचण्डलाई सत्ताच्युत गर्ने रणनीतिमा लागेको कांग्रेसले माधवलाई प्रधानमन्त्रीको लोभ देखाएर वर्तमान सत्ता गठबन्धन फुटाउन खोजिरहेको छ।

यसको झिल्को केही दिनअघि सुदूरपश्चिम प्रदेशमा देखिइसकेको थियो। तर प्रधानमन्त्री प्रचण्डले रातारात पहल गरेर सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिएर माधवको असन्तोष साम्य पारेका थिए। तर त्यसपछि पनि माधवले गठबन्धनविरुद्ध असन्तोष ओकल्न भने छाडेका छैनन्।

यदि माधवले वर्तमान गठबन्धन छाडेमा प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ। यो सरकारको जग हल्लिसकेको र कुनै पनि बेला ढल्न सक्ने एकीकृत समाजवादीका नेताहरुले बताउँदै आएका छन्।

संघीय संसदमा १० सिट मात्र रहेको एकीकृत समाजवादी प्रदेशहरुमा भने सरकार गठन र विघटनका लागि निर्णायक शक्ति मानिन्छ। सुदूरपश्चिम,लुम्बिनी,गण्डकी र बागमती प्रदेशमा उक्त पार्टीले सरकार ढाल्ने हैसियत राख्छ।

केन्द्रमा भने एकीकृत समाजवादीले मात्रै सरकार छाड्दा कुनै संकट छैन तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी समेत बाहिरिने हो भने प्रचण्ड सरकार अल्पमतमा पर्नेछ।

जसपा पनि लुम्बिनी प्रदेशमा भागबण्डाको विषयलाई लिएर गठबन्धनप्रति असन्तुष्ट छ। लुम्बिनीमा २ मन्त्री मागेको जसपाले त्यो नपाएपछि सरकारबाट आफ्ना एक मात्र मन्त्री भण्डारीलाल अहिरलाई फिर्ता बोलाइसकेको छ।

अहिले संघीय संसदमा जसपाका १२ सांसद छन्। गत फागुन ३० गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १५६ सांसदको समर्थन पाएका थिए।

सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ। तर यी दुई समाजवादी पार्टीले गठबन्धन त्यागेर कांँग्रेसको कित्तामा गए भने सत्ता गठबन्धनमा १३४ सांसदमात्र बाँकी रहन्छन्।

थप ४ सांसद अन्य साना दलबाट जुटाउन नसकेमा प्रचण्ड नेतृत्वको सरकार ढल्छ। माधव करकाप वा बाध्यतामा परेर मात्र गठबन्धनमा बसेको देखिन्छ। जुनसुकै बेला उनी बाहिरिन सक्ने संकेत बढेकाले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने आकलन भइरहेका छन्।