मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री सोडारी

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री सोडारी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् ।

यसअघि एमालेले बझाङ उपनिर्वाचनमा जितेमा सरकारमा जाने नभए बाहिरबाट सहयोग गर्ने बताएको थियो। निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेपछि मुख्यमन्त्री सोडारीले आज सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। बैठक ११ बजे बस्दैछ।

बैठकमा सरकार विस्तार, भागबण्डा र विश्वासको मत लिने विषयमा छलफल हुने माओवादी केन्द्रको संसदीय दलका उपनेता अक्कल रावलले बताए । नागरिक उन्मुक्ति पार्टीबाट आज एक मन्त्री थप्ने सम्भावना रहेको रावलको भनाइ छ।

नाउपाबाट टीका थापालाई मन्त्री बनाइने सम्भावना छ। यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो। तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन्।

गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मात्र भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका छन्।