बागमतीमा आजदेखि नेवारी र तामाङ पनि सरकारी कामकाजको भाषा

काठमाडौं। आजदेखि बागमती प्रदेशमा तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग हुने भएका छन्।

प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

बागमती प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्नु उपयुक्त देखिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

उनका अनुसार आज काठमाडौँमा विशेष समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।