जसपा फुटले मधेस तरङ्गित,यादवले बोलाए आकस्मिक बैठक

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेश तरङ्गित भएको छ। केन्द्रमा पार्टी विभाजन भए लगत्तैको अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको बैठक बोलाएका छन्।

यादवले अहिले बिहान ८ बजे मधेश भवनमा बस्नेगरी आकस्मिक बैठक बोलाएका हुन्। मधेशमा जसपा नेतृत्वको सरकार छ। जसपासँग १९ सांसद छन्। विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ।

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ। मधेश प्रदेशमा १०७ सांसद छन्। पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा ६१ सांसद पक्षमा उभिएका थिए।

जसमा जसपाका १९ सांसद छन्। जसपाले वर्तमान गठबन्धन छाडेमा माओवादी र एमालेले नयाँ सरकार बनाउन सम्भव छैन। नयाँ राजनीतिक परिस्थिति अनुसार उपेन्द्रले मधेशमा कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने अवस्था छ।