आशावादी रहेर बजेट बनाइरहेका छौँ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आव। २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन्। आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा यस्तो बताएका हुन।

उनले बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए।

गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको बताउँदै अर्थमन्त्री पुनले भने,निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं,परिवार,सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौँ।

प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नुपर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ।

लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए। उनले औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने बताउँदै भने,सरकारका पनि आफ्नो सीमाहरू हुन्छन्,यसलाई फुकाउँदै जानुपर्छ।

वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको बताउँदै उनले यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए।

अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको विकास नै रहेको बताए। बजेट बनाउँदा ठूलो प्रेसर भोग्नुपरेको भन्दै मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको उनले बताए।