दरबारमार्गबाट हुण्डीको रकमसहित दुईजना पक्राउ

काठमाडौं। काठमाडौँको दरबारमार्गबाट प्रहरीले करिब ९८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको उक्त रकम हुन्डीको भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुवै जना पुरुष रहेका छन्।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए। उनका अनुसार ती पक्राउ पर्ने बुटवलका हुन्।

दरबारमार्गको जय नेपाल सिनेमा हलनजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। थप कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।