संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु

काठमाडौं। सहकारीको वचत रकम अपचलनमा नेपाली कांग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने कार्यदलको बैठक सुरु भएको छ।कार्यदलका सदस्यहरुले आजको बैठकबाट सहमति हुने दाबी गरेका छन्।

संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ। तर गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान राखेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन्।