भारतमा कोरोना संक्रमितको संख्या तीव्र,पछिल्लो २४ घण्टामा ४७ हजार बढी थपिए,होली मनाउन रोक

काठमाडौँ,चैत ११। भारतमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि हुन थालेपछि नयाँ निर्देशिका जारी गरिएको छ।केन्द्रीय सरकारले नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

 

भारतमा पछिल्लो २४ घन्टामा ४७ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् भने झण्डै ३ सय जनाको हाराहारीमा कोरोनाकै कारण मृत्यु भएको छ ।

 

गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा फेरि संक्रमण बढेको हो । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने संक्रमितको कुल संख्या १ करोड १७ लाख ३३ हजार भन्दा बढी छ ।

 

नयाँ निर्देशिका आगामी अप्रिल महिनादेखिदेखि कार्यान्वयनमा आउने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।देशभरी नै परीक्षणको दायरा बढाउने, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउने लगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

 

होली मनाउन रोक लगाउने तयारी

 

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै भारतमा विभिन्न कार्यक्रममा रोक लगाउन थालिएको छ।यसै सन्दर्भमा होली पर्व मनाउन रोक लगाउने तयारी भइरहेको पनि समाचारहरुमा उल्लेख छ। ठूलो भीडभाड हुने भएकोले भारत सरकारले होली मनाउन रोक लगाउने तयारी गरेको हो।

 

दैनिक उच्च संख्यामा कोरोना संक्रमित बढ्न थालेसँगै भारतका विभिन्न राज्यले कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी नीतिमा कडाइ गर्ने तयारी गरिएको छ।

 

पछिल्लो केही दिनदेखि भारतका महाराष्ट्र, पञ्जाब, गुजरात, केरला, कर्नाटाका, मध्यप्रदेशमा धेरै संक्रमित भेटिएका छन् ।भारत सरकारले यसअघि नै कोभिड नियन्त्रणका मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ।