निषेधाज्ञामा वाणिज्य बैंकको व्यवसाय साढे ३५ अर्ब बढ्यो,सबै भन्दा बढी व्यवसाय बढ्ने बैंक यी हुन

काठमाडौं । सरकारले निषेधाज्ञा गरेको डेढ महीना बितिसकेको छ । यसबीचको १ महीनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय साढे ३५ अर्बभन्दा बढी थप्न सफल भएका छन् ।

 

 

कोभिड–१९ का कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको १ महीनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह रू.३५ अर्ब ५९ करोड वृद्धि भएको छ । जेठ अन्तिमसम्म कुल कर्जा रू.३६ खर्ब ४६ अर्ब १० करोड पुगेको छ ।

 

 

बैंकहरूले १ महीनामै ३५ अर्ब ५७ करोड निक्षेप थपेका छन् । जेठ मसान्तसम्म कुल निक्षेप रू। ३९ खर्ब ९१ अर्ब १ करोडको हाराहारीमा पुगेको छ ।

 

 

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चारओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । निषेधाज्ञाको १ महीनाको अवधिमा सबैभन्दा बढी लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ । बैंकको कर्जा प्रवाह रू. ७९ करोडले संकुचन आएको छ । उसको कुल कर्जा रू. १ खर्ब ७ अर्ब १० करोड छ ।

 

नेपाल बंगलादेश बैंकको कर्जा वृद्धि ४५ करोडले घटेको छ । उसको कुल कर्जा रू.६८ अर्ब ६८ करोड रहेको छ ।

 

यसअघि कर्जा प्रवाहमा आक्रामक देखिएको एनआईसी एशिया बैंकको समेत १ महीनामा रू. १५ करोडले कर्जा प्रवाह घटेको छ । यसको कुल कर्जा रू.२ खर्ब ६६ अर्ब ७६ करोड छ ।

 

 

प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा घटेको छ । उसको कुल कर्जा रू. १ खर्ब ४२ अर्ब ८१ करोड रहेको छ ।

 

 

जेठ मसान्तसम्मा सबैभन्दा बढी कर्जा वृद्धि गर्नेमा नबिल बैंक देखिएको छ । बैंकले एकै महीनामा रू. ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप कर्जा वृद्धि गरेको छ ।

 

 

उसको कुल कर्जा रू.१ खर्ब ९७ अर्ब ८५ करोड पुगेका छ । नबिलको कर्जापूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव ६६ प्रतिशत रहेको छ ।

 

 

नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली यति बेला बैंकबाट नयाँ कर्जा नगए पनि प्रक्रियामा रहेका वा यसअघि रोकिएका पुराना कर्जा गएको बताउँछन् ।

 

 

निषेधाज्ञाले गर्दा व्यवसाय प्रभावित बनेको उनको भनाइ छ । ‘मान्छेहरू बाहिर निस्किन पाएका छैनन् । मालपोतदेखि सबै चहलपहल बन्द रहेकाले पनि बैंकको व्यवसाय केही प्रभावित छ । नयाँ कर्जा बन्द छ,’ उनले भने ।

 

नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल आईएमई बैंकले ३ अर्बसम्म थप कर्जा प्रवाह गरेका छन् । साढे २ अर्बदेखि पौने ३ अर्बसम्म थप कर्जा विस्तार गर्नेमा सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंक रहेका छन् ।

 

 

एक अर्बभन्दा माथि २ अर्बसम्म थप कर्जा वृद्धि गर्नेमा हिमालयन, सनराइज, नेपाल बैंक, कुमारी, नेपाल एसबीआई, सानिमा र प्राइम बैंक रहेका छन् ।

 

 

निषेधाज्ञाको १ महीनाको अन्तरमा थप कर्जा वृद्धिमा अगाडि देखिएको नबिल बैंकले निक्षेप संकलन वृद्धिमा पनि पहिलो स्थानमा रहेको छ ।

 

 

वैशाख मसान्तदेखि जेठ मसान्तसम्ममा उक्त बैंकले ५ अर्ब २ करोड रुपैयाँको थप निक्षेप वृद्धि गरेको छ । उसको कुल निक्षेप रू. २ खर्ब २१ अर्ब २१ करोड पुगेको छ ।

 

 

यस अवधिमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकले रू. ४ अर्बभन्दा बढी थप निक्षेप संकलन गरेका छन् । २ अर्बदेखि ३ अर्बसम्मको थप निक्षेप संकलन बढाउनेमा सिटिजन्स, सानिमा, मेगा, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौं, प्राइम, र कुमारी बैंक रहेका छन् ।

 

 

१ अर्बदेखि २ अर्बसम्मको थप निक्षेप बढाउनेमा नेपाल बंगलादेश, हिमालयन, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंक रहेका छन् । १ अर्बभन्दा कम ५ करोडसम्मको थप निक्षेप बढाउनेमा सिभिल, सिद्धार्थ, सेञ्चुरी र लक्ष्मी बैंक रहेका छन् ।

 

आधा दर्जन वाणिज्य बैंकको निक्षेप संकलन संकुचनमा रहेको छ । प्रभु, एनआईसी एशिया, सनराइज, एभरेष्ट, एनएमबी र नेपाल बैंकको निक्षेप संकलन वृद्धि घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

 

 

सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बैंक रहेको छ । बैंकको निक्षेप संकलमा रू.३ अर्ब ५६ करोडले संकुचन भई जेठ मसान्तसम्ममा कुल निक्षेप रू.१ खर्ब ५५ अर्ब ७६ करोड पुगेको छ ।

 

११ बैंकको सीसीडी ८० प्रतिशत माथि

पछिल्लो समय ११ बैंकको लगानीयोग्य पूँजी कसिलो हुने अवस्था आएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार ११ ओटा वाणिज्य बैंकको सीसीडी रेसियो (कर्जापूँजी निक्षेप अनुपात) ८० प्रतिशतभन्दा माथि देखिएको छ ।

 

 

एनआईसी एशिया बैंकको ८३ दशमलव ९७ प्रतिशत, सानिमा बैंकको ८३ दशमलव ४५ प्रतिशत, मेगा बैंकको ८३ दशमलव ३१ र माछापुच्छ्रे बैंकको ८३ दशमलव १९ प्रतिशत सीसीडी रहेको छ । जेठ मसान्तसम्म वाणिज्य बैंकको कुल सीसीडी औसत ७८ दशमलव ८४ प्रतिशत रहेको छ ।

 

 

नेपाल राष्ट्र बैंकले चालू आवमा सीसीडी रेसियो ८० प्रतिशतबट बढाएर ८५ प्रतिशतसम्म पु-याएको छ । यसले थप लगानीयोग्य पूँजीमा सहजता कायम गरेको छ ।

आर्थिक अभियानबाट,