लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिप्रति विप्लवको आपत्ति

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चीन र भारतका अधिकारीहरूबीच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ।

शनिबार विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ,चीन र भारतका अधिकारीहरूबिच पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ का कारण बन्द भएको लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

२०७७ जेठमा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा समेत सार्वजनिक गरिसकेको जनाउँदै सो पार्टीले नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरिएको बताएको छ। विज्ञप्तिमा भनिएको छ: ‘चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन् नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक छ।