नेता बनेर होइन, यो महान् देशको नागरिक बनेर फर्किएको छु: देउवा
काठमाडौं। नेपाली कांग्रेसका निवर्तनमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादु देउवाले आफू नेता बनेर नभई यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताउनुभएको छ।
स्वदेश फर्किएपछि अपीलपत्र जारी गर्दै देउवाले आफू विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको उहाँको भनाइ छ।
आफू ५ महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुशी भएको भन्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।
२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसङ्ग जोड्दै देउवाले ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनुभएको छ।
देउवाले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै उहाँले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरुन्त समाधान हुनुपर्ने पनि बताउनुभएको छ।
