देउवा स्वदेश फर्किंदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा
काठमाडौं। नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
गत फागुनमा स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका देउवा आज मध्यान्ह करिब १२:३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
देउवाको आगमनलाई मध्यनजर गर्दै विमानस्थलको आगमन गेट तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको उपस्थिति बढाइएको छ। आगमन क्षेत्रमा प्रवेश तथा आवतजावतमा पनि निगरानी कडा बनाइएको छ।
देउवालाई स्वागत गर्न नेपाली काँग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू विमानस्थल पुग्ने तयारी गरिरहेका छन्। सम्भावित भीड व्यवस्थापन तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
