डिजिटल भुक्तानी नि:शुल्क बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । डिजिटल भुक्तानी गर्दा अतिरिक्त शुल्क तिर्न उपभोक्ता बाध्य भएको गुनासो आइरहेको भन्दै संसद बैठकमा विषय उठेको छ ।
शुक्रबारको शुन्य समयमा बोल्दै सांसद निशा डाँगीले डिजिटल भुक्तानी निःशुल्क हुने व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले भनिन्, ‘सरकारले पटक पटक विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भनेको छ । तर, मैले यदि कसैलाई नगद १०० रुपैयाँ दिएँ भने कुनै पनि प्रकारको कर लाग्दैन र पैसा दिए बापतको रकम पनि तिर्नुपर्दैन ।
तर, यदि मैले सोही रकम डिजिटल प्लेटफममार्फत कसैलाई दिएँ भने १११.३ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘जसले गर्दा हामी डिजिटल ट्रान्सजेक्सन गर्न निरुत्साहित भइरहेका छौँ ।
यदि सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने हो भने कर कटौती गर्दै निःशुल्कको व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो ।
त्यसका लागि सरकार र अर्थ मन्त्रालयले नीति परिवर्तन गरेर यो व्यवस्थालाई सहज बनाउनुपर्ने उनले माग गरिन् ।
