बाजुरामा एक युवकको हत्या, तीनजना पक्राउ

धनगढी । बाजुरामा विवाह भोज खान गएका एक युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीका अनुसार पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेका छन् । खड्कालाई साफेबगरबाट र अन्य दुई जनालाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा उनीहरुबीच आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।

मादक पर्दाथ खाएरको अवस्थामा दीर्घ विष्टले आफूलाई सबै केटाहरुले ‘दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद हुँदा थापामाथि कुटपिट भएको र उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसान्धानमा खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।