धार्मिक भावले मासिलाई अनुशासित बनाउँछः पर्यटनमन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले यसले लोकतान्त्रिक गणतन्त्रलाई पनि मजबुत बनाउँदै लैजाने धारणा राखेका छन् ।
आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भावको आवश्यकता पर्ने बताए । धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले विद्यमान व्यवस्थाका सकारात्मक पक्षलाई संरक्षण गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
‘धार्मिक र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सकारात्मक उपलब्धि संरक्षण गर्न सबैलाई प्रेरित गर्छ । यसले मुलुकको लोकतान्त्रिक प्रणाली थप मजबुत हुँदै जान्छ’, मन्त्री पाण्डेले भने ।
‘पशुपति क्षेत्रमा आउनेहरू धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरूले जताततै फोहर गर्नुभएन, आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ भन्ने बुझ्नुभएको हुन्छ ।
यही कारणले उहाँहरूमा आत्मानुशासन हुन्छ । कतिपय देशका सडकमा ट्राफिक बस्नुपर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भाव अवलम्बन गर्दै सकारात्मक मार्गमा अघि बढ्नुपर्छ’, उनले भने ।
पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाताहरू आउन थालेका उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए ।
दाताबाट दानमा सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएकाले समिति निर्माण गरेका छौँ । समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी प्राप्त सुनको सदुपयोगका विषयमा कार्ययोजना र कार्यविधि निर्माण गर्नेछ’, कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका उनले भने ।
धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अरुका तुलनामा अनुशासित र उदाहरणीय बन्नुपर्नेमा मन्त्री पाण्डले जोड दिए ।
धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीले मुलुकका ऐतिहासिक र पौराणिक स्थलको महत्वका बारेमा आमनागरिक र विश्वलाई जानकारी दिनेगरी समाचार सङ्कलन र सम्प्रेषण गर्नु जरुरी रहेको उनको भनाइ छ।

