नेहा र सत्येन्द्रको मुद्दामा कुनै हस्तक्षेप गरिएको होइन: गृहमन्त्री लेखक

काठमाडौं। राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले नेहा रौनियार र सत्येन्द्र रामको बिहे सम्बन्धी मुद्दामा राज्य पक्षबाट कुनै पनि हस्तक्षेप नभएको स्पष्ट पारेका छन्। नेहा र सत्येन्द्रको सुरक्षामा सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस विषयमा मुलुकी अपराध संहिता २०७४ को कानूनी व्यवस्था अनुरुप भएको अनुसन्धान र कारवाहीको विषयमा नेपाल प्रहरीले सार्वजनिक रुपमा जानकारी गराइसकेको बताए। यस मुद्दामा राज्य पक्षबाट हस्तक्षेप भएको छैन।नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,गृहमन्त्री लेखकले भने।

यो घटनालाई लिएर आफ्नो समेत आलोचना भएको बताउँदै उनले भने,अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भिर र अत्यन्तै संवेदनशील रहेको छ।

सर्लाही बरहथवाका सत्यन्द्र राम चमार र नेहा रौनियारबीच प्रेम बिहे भएको थियो। तर उनीहरुलाई छुट्याउन गृह प्रशासन समेत लागेको भन्दै मन्त्री लेखकको आलोचना भएको थियो।

यसै सन्दर्भमा मन्त्री लेखकले ‘अन्यथा टिप्पणी’ गर्नुलाई आफूले आफ्नो जीवन, मूल्य र आदर्शको अवमूल्यन हो भन्ने ठानेको बताए।

‘म अहिले र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु। वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु मन्त्री लेखकले भने। आफू कुनै पनि प्रकारको जातीय विभेद र छुवाछूतको विरुद्धमा सधैँ लड्दै आइरहेको बताए।

यो घटनालाई लिएर संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरुसँग भएको भेटमा आफूले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव,उत्पीडन, छुवाछूत लगायतका घटनाको अनुसन्धानमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने प्रतिबद्धता गरेको उनले सुनाए।

त्यसअनुसार डेस्क स्थापना भएको र ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्री लेखकले बताए।

‘यस दलित डेस्कबाट सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछूत तथा भेदभाव हटाई कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुग्न जानेछ बताए।

उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशील रहेको बताए। हाम्रो चाहना भनेको संविधान र कानूनप्रदत्त अधिकारसहित शान्ति र सुखपूर्वक सबै नागरिकले जीवनयापन गर्न पाउनुपर्छ भन्ने छ।

मुलुकी अपराध संहिता २०७४ को कानूनी व्यवस्था अनुरुप भएको अनुसन्धान र कारवाहीको विषयमा नेपाल प्रहरीले सार्वजनिक रुपमा जानकारी गराइसकेको गृहमन्त्री लेखकले बताए। यस मुद्दामा राज्य पक्षबाट कुनै हस्तक्षेप नभएको फेरि पनि जानकारी गराउन चाहान्छु उनले भने।