काँग्रेसमा देउवा रिझाउन ११ भाइको हानथाप,कसलाई गर्लान् विश्वास ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिझाउन पार्टी भित्रका ११ भाइ अहिले सक्रिय बन्दै गएका छन्। कांग्रेस सभापति देउवाको कार्यकाल सकिन अब १० महिना मात्रै बाँकी रहेको छ। त्यसैले ८२ सालभित्रै १५ औं महाधिशन हुनुपर्नेमा संस्थापन इतर पक्षका नेताहरुले जोड दिँदै आएका छन्। ८२ सालमै महाधिवेशन नभए पनि ८४ को आम निर्वाचन अघि नै महाधिवेशन हुने निश्चित नै छ। त्यसैले कांग्रेस नेताहरुले पार्टीको नयाँ नयाँको खोजी गर्न थालेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको २ कार्यकाल सभापति पद सम्हालेका हुन्। उनी २०७२ सालमा १३ औं महाधिवेशन र ७८ साल मंसिरमा भएको १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्वको सम्हालेका हुन्।

त्यसैले दुई कार्यकाल सभापति सम्हालेको देउवाले विधानतः अब १५ औं महाधिवेशनबाट पार्टी नेतृत्वका लागि लड्न पाउने छैनन्। पार्टी विधान अनुसार नै देउवा सभापतिमा लड्न नपाउने भएपछि नयाँ नेतृत्व हत्याउने नेताहरुको दौडधुप शुरु भइसकेको छ।

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा पार्टी सभापतिको चर्चामा छन्। तर उनीहरुले १५ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार घोषणा भने गरिसकेका छैनन्।

शेखर र गगन बाहेक उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय कार्य समिति सदस्यहरु विमलेन्द्र निधि, डा.सशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह श्रेष्ठ र गोपालमान श्रेष्ठ पनि सभापतिमा आकांक्षी हुन्। तर संस्थापन पक्षबाट कसलाई अघि बढाउने भन्नेमा देउवा निश्कर्षमा पुगिसकेका छैनन्। सातौं पटक प्रधानमन्त्रीको लाइनमा रहेका देउवाले आफ्नो लिगेसी पत्नी आरजुतर्फ धकेल्ने आकांक्षा पनि राखेका छन् । तर आफ्नो पक्षका नेताहरुले आरजुर्लाइ सहज नेतृत्व स्वीकार्ने अवस्था भने देखिदैन।

उता, जननेता वीपी कोइरालाको पुत्र भएकै कारण डा। सशांक कोइराला पनि नेतृत्वको तीब्र आकांक्षामा छन्। १३ औं महाधिवेशनबाट तेस्रो धारका रुपमा स्थापित कृष्णप्रसाद सिटौला भने १४ औं महाधिवेशनमा देउवालाई सघाउन पुगे।

अहिले पनि उनी देउव समूहमै रहेकाले शशांकसहित सिटौला पनि देउवालाई रिझाउन ब्यस्त छन्। शशांकले बीपीको विचारबारेको एउटा कार्यक्रममा ठट्यौली पारामा आफू अब सभापतिमै लड्नुपर्ला जस्तो लागेको बताएका थिए।

डा। शशांकले आफूलाई वीपीको लिगेसी ठानेजस्तै प्रकाशमान सिंह पनि लौहपुरुष गणेशमान सिंहको छोरा भएकै कारण राजनीतिक ब्याज खाइ रहेका छन्। त्यसैले उनले आफूलाई त्यही लिगेसी ठान्छन्।

आफू ग्रासरुटबाट आएको, जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापति तथा संसदीय दलको उपनेता पनि भएको भन्दै उनले अब संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बन्ने आकांक्षा जाहेर गरेका छन्।

शान्ति प्रक्रियाका बेला महत्वपूर्ण भूमिका खेलेका कांग्रेसका शालिन नेता कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा तेस्रो धारका रुपमा उदाएका थिए।

१४ औं महाधिशनमा देउवालाई सघाउँदै उनले आफ्नो धार विलय गराए । १४ औं महाधिवेशनमा देउवाको साथ लिएर सिटौलाले आफूनिकट युवा नेता प्रदीप पौडेललाई पार्टी महामन्त्रीमा खडा गरेका थिए। तर पौडेल महामन्त्रीमा पराजित भए। सिटौला अहिले देउवा निकट नै छन्। आफूले लगाएको गुन देउवाले तिर्छन् भन्नेमा सिटौला विश्वस्त छन्।

त्यस्तै अघिल्लो कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि आधा दर्जन नेताहरु मैदानमा उत्रिएका थिए। चौधौं महाधिवेशनमा ६ नेताले पार्टी सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए।

वर्तमान सभापति देउवासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका थिए।

धेरै उम्मेदवार भएकै कारण पहिलो पटक ५० प्रतिशत मत कसैले पनि कटाउन सकेनन्। ५० प्रतिशत मत कटाउन नसेपछि सभापतिका लागि पुनः दोस्रो पटक मतदान भएको थियो।उक्त महाधिवेशनमा प्रकाशमान पनि सभापतिका उम्मेदवार थिए। सिंहले ३७१ मत प्राप्त गरे।

देउवाले सिंहको साथ खोजे। ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार सभापति पदमा निर्वाचित हुने व्यवस्था भएकाले दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सहयोग गरेका थिए।

त्यसैगरी देउवाको लिगेसीका लागि ११ भाइले कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि संस्थापन पक्षका नेताहरु शेखर र गगनको चर्चा पनि संस्थापन पक्षबाट पनि सभापतिको उम्मेदवार अघि सार्नुपर्ने दबाब देउवा पक्षका नेताहरुले दिएका छन्।

देउवा पक्षका ११ जना नेताहरुले गत फागुन २ गते मात्रै बुढानिलकण्ठ पुगेर १५ औं महाधिवेशनका लागि आफूहरुको समूहको नेता तोकिदिन आग्रह नै गरेका थिए। त्यतिबेला देउवालाई भेट्न उपसभापति पूर्णबहादुर खड्का,पूर्वउपसभापति विमलेन्द्र निधि,विजयकुमार गच्छदार ,कृष्णप्रसाद सिटौला,गोपालमान श्रेष्ठ,प्रकाशमान सिंह,डा.शशांक कोइराला,डा.प्रकाशशरण महत,बालकृष्ण खाँण,एनपी साउँद र उमाकान्त चौधरी सभापतिको निवास बूढानीलकण्ठ पुगेका थिए। तर देउवाले समूहको नेता घोषणा गरेनन्।

देउवा भने आफ्नो लिगेसीका रुपमा कसलाई अघि सार्ने सार्वजनिक गरेका छैनन्। उनी पत्नी आरजुलाई पार्टीको जिम्मेवार पदमा लैजान चाहन्छन्। त्यसका लागि सिटौला पनि प्रमुख पात्र हुन्। सिटौला देउवापत्नी आरजुको पनि प्रिय पात्र मानिन्छन्।

सिटौलालाई अघि सार्दा आरजुलाई विशेष ठाउँमा पुर्याउन सहज हुने आंकलन गरिएको छ। त्यसैले देउवालाई कसले रिझाउन सक्छ,उसैको पल्लाभारी हुने निश्चित जस्तै देखिएकाे छ।