१ करोड ५५ लाख नयाँ पुस्तक छापियो,समयमै सबै ठाउँमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा

काठमाडौं। नयाँ शैक्षिक सत्र (२०८२) को लागि १ करोड ५५ लाख थान नयाँ पाठ्यपुस्तक छापिएको छ। सरकारको स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले तीव्र गतिमा अहिले पुस्तक छपाइ भइरहेको र बाँकी पुस्तक छिटै नै छापिसक्ने जनाएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्राविधिक निर्देशनालयका उपनिर्देशक तिलबहादुर अधिकारीका अनुसार नयाँ शैक्षिक सत्रलाई चाहिने कक्षा १ देखि १२ सम्मका लागि १ करोड ७० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति जनक शिक्षाले पाएको छ।

‘हालसम्म १ करोड ५५ लाख थान पुस्तक छपाइ सकिएको छ, बाँकी अब १५ लाख थानमात्र पुस्तक छाप्न बाँकी छ, त्यो पनि अब छिटै नै सकिन्छ,उनले भने।

जनक शिक्षाले २०८० सालको शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति पाएको थियो। यस्तै, कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले गत वर्ष २०८१ का लागि १ करोड ७४ लाख थान छाप्ने अनुमति पाएको थियो। छापिएका ती नयाँ पुस्तक चैत १५ गतेदेखि बिक्री वितरणको काम थालेको थियो।

‘हामीले छाप्दै पुस्तक पठाउँदै गरेका छौँ, त्यसैले सबै ठाउँमा समयमै पुस्तक पुग्छ,’ उनले भने। उनका अनुसार यहाँ पुस्तक छापेपछि जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कोशी कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाउने गरिएको छ।

यस्तै, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाउने गरिएको छ र त्यहाँबाट वितरण गरिनेछ।

२ वर्ष अघिसम्म वर्षेनि समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहोरिइइरहेको थियो। त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो। तर २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ।