बाल मन्दिरको जग्गा हिनामिनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन

काठमाडौं। नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा सस्तो मूल्यमा भाडामा दिँदा सरकारी सम्पत्तिमा आर्थिक हानी पुर्‍याएको भन्दै रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको हो।

महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार, प्रारम्भिक अनुसन्धानका आधारमा सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको ठहर गर्दै मुद्दा अघि बढाइएको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयले उक्त मुद्दा नचलाउने सिफारिससहित फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएका थिए।

तर, अनुसन्धान प्रतिवेदनले पर्याप्त आधार देखाएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला उल्ट्याउँदै मुद्दा दायर गर्ने निर्णय लिएको हो। आरोप अनुसार, बाल संगठनको मूल्यवान जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिइएको थियो, जसबाट राज्यलाई ठूलो आर्थिक क्षति भएको छ।