कार्यकर्तालाई जागिरे बनाउन दलहरुले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रमदान हट्यो,फुसर्द धेरै हुँदा गलत ठाउँमा फस्दै जनता

पाँच दशकअघि मुलुकमा अशिक्षित व्यक्तिहरुको संख्या धेरै थियो। विभिन्न कारणले गर्दा प्रायजसो मानिस शिक्षा प्राप्तिबाट वञ्चित भएका थिए। त्यतिबेला उनीहरुको जीवन नै कृषि थियो। बिहानदेखि बेलुकासँग खेतबारी, घाँसदाउरा र घरायसी काम गर्दै ठिक्क हुन्थ्यो । चप्पल चलाउने चलन थिएन । खाली खुट्टा हिँडिन्थ्यो । च्यातिएको कपडा लगाइन्थ्यो।

तर, आफू नखाएर भएपनि अफ्ठयारो वा समस्यामा परेका व्यक्ति तथा छरछिमेक, आफन्तहरुलाई सहयोग गरिन्थ्यो । नचिनेका व्यक्तिलाई समेत घरमा बास दिइन्थ्यो । यति मात्र होइन सार्वजनिक काम मिलेर गरिन्थ्यो । बाटो, चौतारा, पाटीपौवा, ढुंगेधारा, कुवा, खोलामा साङ्ग पनि सबै मिलेर हालिन्थ्यो।

आफ्नो गाउँमा विद्यालय भत्किएमा आफैं मर्मत गर्न अघि बढिन्थ्यो । दशकअघि मानिसहरु खेतबारी अर्थात् जग्गाको धनी थिए । जग्गा नभएको व्यक्ति सायदै हुन्थे । एउटै व्यक्तिको एक रोपनीदेखि सयौं रोपनीसम्म जमिन हुन्थ्यो । खेतबारी, गाईवस्तु घरको काम गरेरसमेत उनीहरु सार्वजनिक काम गर्न समय निकाल्थे ।

शिक्षा प्राप्त नगरेपनि मानिसहरुमा चेतना थियो । आफ्नो काम आफैं गर्नुपर्छ, राज्यको मुख ताक्नुहुन्न भन्ने उनीहरुको सोचाई थियो । किताबी ज्ञान नभएपनि मानिसमा व्यवहारिक ज्ञान भने निकै हुन्थ्यो । दशकअघि अहिलेजस्तो मिलको व्यवस्था थिएन । कतै कतै पानी घट्टो हुन्थ्यो । त्यो पनि घण्टौ हिँडेर जानुपर्ने । बिहान ३ बजे नै उठेर गहुँ, मकै, कोदो पिन्न घट्टो पुग्थे ।

कोही चाँहि रातभर आफ्नो घरमा जातो वा ओखलमा पिस्थे । आफ्नो घर आँगन र बाटो आफैं सफा राखिन्थ्यो । बिहानै उठेर घरदेखि बाटोसम्म कुचो लगाइन्थ्यो । ढुंगेधारा, कुवा, पाटी पौवा, चौताराहरु फोहोर भएमा पनि आफैंले सफा गरिन्थ्यो । कुनै पनि काममा सरकारको मुख नताक्ने प्रवृति थियो । विद्यालय, अस्पताल निर्माणमा समेत श्रमदान गरिन्थ्यो ।

तर, पछिल्लो समय हरेक काममा सरकारको मुख ताक्ने प्रवृत्तिको विकास भएको छ । अहिले थुप्रै मानिस शिक्षित छन् । यद्यपि, उनीहरुको व्यवहारिक ज्ञान भने भएन । जसका कारण मानिसहरुमा आफ्नै कामसमेत आफैं नगर्ने प्रवृत्तिको विकास हुँदै गएको छ । ७४ वटा जिल्लाका जनता काठमाडौं उपत्यका आए ।

गाउँको घर ताल्चा झुण्डाए र जमिन बाँझो राखी सेवासुविधाको खोजीमा उनीहरु उपत्यका छिरे । यहाँ जमिन किने । घर बनाए । यता, उपत्यकाबासीले पनि धमाधम जमिन बेचे । जमिन बेचेर छोराछोरीको बिहे गरिदिने, जमिन बेचेरै भोजभतेर गर्ने, घर बनाउने, रक्सी खानेजस्ता काम गरे ।

दशकअघि उपत्यकामा दशदेखि सयौं रोपनीसम्म जमिन हुनेहरु अहिले चार आनामा सीमित भएका छन् । बाहिरी जिल्लाबासीले पनि आफ्नो गाउँको सयौं रोपनी जमिन बाँझो राखेर उपत्यकामै चार आना जग्गा किनेका छन् । घर बनाएका छन् ।

आफ्ना कार्यकर्तालाई रोजगारी दिन राजनीतिक दलहरुले सार्वजनिक कामका निम्ति ‘प्रधानमन्त्री रोजगारी कार्यक्रम’ ल्याए । जसले गर्दा मानिसहरुमा सार्वजनिक काम गर्नुपर्छ भन्ने सोचाईको नै अन्त्य भयो । विगतमा निःशुल्क सार्वजनिक काम गर्नेहरु अहिले पैसाबिना आफ्नै घरअगाडिको फोहोरसमेत उठाउँदैनन् । प्रधानमन्त्री रोजगारी कार्यक्रममार्फत पार्टीका झोलेहरुले मात्र जागिर पाएका छन् ।

पार्टीको आडमा जागिर पाएकाहरुबाट कामको के आशा गर्नु र । उनीहरु कार्यालय जान्छन् हजिर चाँहि गर्छन्, तलब बुझ्छन् तर काम चाँहि गर्दैनन् । जसले गर्दा राज्यलाई आर्थिक भार थपिएको छ । अर्कोतर्फ भ्रष्टाचार पनि मौलाउँदै गएको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत मानिसहरुलाई रोजगारी दिएर मात्र हुँदैन । काम गर्न आवश्यक पर्ने सामग्रीसमेत दिनुपर्छ । त्यसको खरिदमा खर्बौ भ्रष्टाचार भएको छ वा हुने गरेको छ ।

जसले गर्दा राज्यको खर्बौ लगानी बालुवामा पानी बराबर भइरहेको छ । उपत्यकामा जति पनि घर बनेका छन्, त्यसमा आँगन अथवा खाली ठाउँ छैन । सानो जग्गामा अग्लो घर बनाएर भाडामा लगाइएको छ । मासिक रुपमा भाडा असुलिन्छ । तर, आफ्नै घर वरपरको फोहोर सफा गरिँदैन। स्थानीय तहबाट आएका कर्मचारीले सफा गरिदिनुपर्छ ।

अहिले मानिसहरु निकै फुर्सदिलो छन् । विडम्बना, उनीहरुसँग सार्वजनिक काम गर्न चाँहि समय छैन । दिनभर मोबाइल चलाएर बस्छन् । धर्मको नाममा अनेक ठाउँ दौडिन्छन् । भोजभतेरी, विवाहमा जान्छन् तर विद्यालय, अस्पताल बनाउन श्रमदान गर्ने समय हुदैँन । मानिसहरुले किताबी ज्ञान त धेरै प्राप्त गरे । दुर्भाग्य, व्यवहारिक ज्ञान भने कसैमा पाइँदैन ।

यहाँ त अरुको राम्रो कामलाई नजरअन्दाज गर्ने, नराम्रोलाई चाँहि पछ्याउने प्रवृत्ति बढ्दो छ । उदाहरणका लागि कसैले बाटो सफा गरेमा त्यसमा कसैले साथ दिँदैनन् । उल्टै फोहोर पारिदिन्छन् । अनि धर्मको नाममा माता कहाँ गएर दिनभर नाचगान गर्छन् । हजारौं रकमको फलफूल तथा सामग्री लगेर चढाइन्छ । पैसा पनि उत्तिकै चढाइन्छ । धर्मको नाममा आफ्नो पैसा र समय दुवै खर्च गर्न थालिएको छ ।

कृथित माताहरुले धर्मको नाममा शिक्षित व्यक्तिहरुलाई उल्लु बनाएर ठगिरहेका छन् । उनीहरुको सम्पत्ति लुटिरहेका छन् । देशमा निजी तथा सरकारी थुप्रै अस्पताल छन् । विडम्बना, अहिले पनि बिरामी हुँदा माता, धामी झाँक्री कहाँ जाने गरिन्छ । कथित माता, धामी झाँक्रीहरुले उपचार गर्न दिँदैनन् । अनि निर्दोष व्यक्तिले अकालमै ज्यान गुमाउनुपरेको छ ।

यति मात्र होइन, भविष्यवाणी गर्ने नाममा पनि लाखौं रकम ठगी गरिन्छ । यद्यपि, सरकार त्यस्ता ठग माताहरुलाई कारबाही गर्दैन । यहाँ सरकार नै कमजोर भयो । गलतविरुद्ध कदम चाल्नुको साटो सरका झुक्छ । अनि कसरी देश विकास हुन्छ । हाम्रो राष्ट्रिय भाषा नेपाली हो ।

तर, पछिल्लो समय निजी विद्यालयहरुले विद्यार्थीलाई नेपाली नै बोल्न दिँदैनन् । न त नेपाली पढाउँछन् । अँग्रेजी सिकाउन मात्र विद्यालयहरु केन्द्रीत देखिन्छन् । यसरी अँग्रेजी मात्र जानेपछि भविष्यमा ती विद्यार्थीले आफ्नै देशमा केही गर्न खोजेपनि नेपाली नआउँदा गर्न सक्दैनन् । अनि उनीहरु जहाँ अँग्रेजी बढी प्रयोग हुन्छ, त्यतितिर लाग्छन् ।

अर्को भाषामा भन्नुपर्दा विदेश पलायन हुन्छन् । यदि सरकारले बेलैमा निजी विद्यालयहरुलाई अँग्रेजी मात्र पढाउनमा रोक लगाइदिएको भए आज ती विद्यार्थी विदेश पलायन हुनु पर्दैन्थ्यो । न त देशले सक्षम व्यक्ति गुमाउनु पथ्र्यो । यसरी सरकार कमजोर हुँदा त्यसको क्षति समग्र देशले व्यहोर्नुपर्छ । यता, मानिसहरुमा राम्रो र नराम्रो छुट्याउन सक्ने क्षमता नै छैन ।

आफूलाई जन्म दिने आमाबुवालाई आश्राम छोड्ने अनि कुकुरलाई चाँहि आफूसँग सुताउँछन्, अचेल मानिसहरु । सार्वजनिक काम गर्नुपरे विभिन्न बहाना बनाउँछन् । आफ्नै घरको कामसमेत गर्दैनन् । कतिपय चाँहि अरुलाई देखाउनका निम्ति सार्वजनिक काम गरेजस्तो देखाएर भिडियो खिचेर फेसबुकमा पोस्ट गर्छन् ।