कांग्रेसको प्रश्न-सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर प्रमुख सचेतक थापाले नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गरिन्। नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि रहेको भन्दै उनले सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताइन्।

उनले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसंग निकाल्दै आफू त्यहीँ पुग्दा मौनता किन भनी प्रश्न गरिन्।

हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ? उनले प्रश्न गरिन्,के पद र शक्तिले पीडाको वर्गीकरण गर्छ? नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ।

थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने बताइन्। नेपाली समाजको मुख्य शक्ति नै सद्भाव र सहअस्तित्व रहेको चर्चा गर्दै उनले कसैको उक्साहट वा घृणाको राजनीतिबाट प्रभावित नभई सामाजिक एकता र भाइचारा कायम राख्न सम्पूर्णमा अपिल गरिन्।

प्रमुख सचेतक थापाले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरिन्।