प्रतिपक्षका सांसद र नेताको गृहमन्त्री लेखकलाई बलियाे साथ,रास्वपाको अबको बाटो कता ?
काठमाडौं। भिजिट भिसा प्रकरण यतिबेला राजनीतिक वृत्तमा निकै चर्चित विषय बनेकाे छ। यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रचारबाजी उग्र बन्दै गएपछि यसले थप माहोल बढाएको देखिदैछ।
विपक्षी दलहरुले गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा माग गरिरहेका छन्। यो प्रकरणमा स्वयम् गृहमन्त्रीले नै संसदमा प्रष्टिकरण दिन खोजेपनि विपक्षी दलहरुको अवरोधका कारण सम्भव भएन। त्यसपछि उनले पत्रकार सम्मेलनमार्फत यो प्रकरणमा केही स्पष्टिकरण दिएका छन्। उनले सो स्पष्टिकरणमा आफू निर्दोष रहेको र राजीनामा नदिने स्पष्ट पारिसकेका छन्।
भिजिट भिसा प्रकरणबारे विपक्षी दलहरुले राजनीतिक दाउपेच हेरिरहेको स्पष्ट हुन्छ। विपक्षी दलहरुले यो प्रकरणमा सामाजिक सञ्जालमा आएका सामग्रीलाई आधार बनाइरहेका छन्।
सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा यो प्रकरणमा जोडिएका सहसचिव तीर्थ भट्टराईले गृहमन्त्रीलाई ५० लाख बुझाउने गरेको बयान दिएको भन्दै अफवाह निकै फैलाइएको थियो।
त्यो अफवाहलाई स्वयम् अख्तियारले नै मात खुवाइदिएको छ। अब विपक्षी दलहरुले तथ्यमा टेकेर नभइ हल्लाका भरमा गृहमन्त्रीमाथि दबाब बढाएको देखिन्छ।
यसमा खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अग्रपंक्तिमा देखिदै आएकाे छ। रास्वपाले गृहमन्त्री लेखकमाथि सरासर राजनीतिक प्रतिशोध राखेको बुझ्न कठिन छैन।
अघिल्लो सरकारको पालामा पार्टी सभापतिको सहकारी काण्डको बदला लिन रास्वपाले गृहमन्त्रीमाथि दबाब बढाइरहेको छ। तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी काण्डमा मुछिएका मात्र थिएनन् उनीविरुद्ध विभिन्न स्थानमा उजुरीसमेत परेको थियो।
उजुरी परेको व्यक्तिलाई गृहमन्त्रालयको नेतृत्व सुम्पिरहँदा अनुसन्धान प्रभावित हुने भन्दै त्यतिबेला नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेको थियो।
जसको अग्रपंक्तिमा थिए गृहमन्त्री रमेश लेखक। त्यतिबेला उनले संसदमा बोलेको विषयलाई फरक अर्थ लगाएर अहिले प्रचार गरिँदै आइएको छ। वर्तमान गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा अनावश्यक रुपमा मुछन थालिएको छ।
यो प्रकरणमा गृहमन्त्री विरुद्ध न कतै उजुरी परेको छ न कतै अनुसन्धान नै अघि बढेको छ। खाली हल्लाका भरमा उनको राजनीतिक भविष्य नै धरापमा पार्ने खेल भइरहेको छ।
यसमा सबैभन्दा बढी कच्चा खेल रास्वपाले नै चलाएको छ। सुरुमा भिजिट भिसामा गृहमन्त्री संलग्न रहेको भन्दै राजीनामा माग्ने त्यही पार्टी थियो। अहिले त्यही पार्टीले भिजिट भिसामा ठगिएका प्रमाणहरुका लागि हारगुहार गरिरहेको छ।
सामाजिक सञ्जालको अफवाहमा धारणा बनाउन माहिर रास्वपाका नेताहरु अहिले रनभुल्लमा परेको देखिन्छ। उनीहरुले आफ्नो सम्पर्क नम्बर र इमेलमार्फत प्रमाणहरु जुटाउन लागिरहेको देखिन्छ।
यो विषय गृहमन्त्रीको राजीनामा माग्न तम्सिनुभन्दा पहिले अघि बढाउनुपथ्र्यो। ठूलो स्वर गरेर, चिच्याएरै गृहमन्त्रीको पद खुस्काउन सकिन्छ भन्ने भ्रममा रास्वपाका सांसदहरु तम्सिएका थिए। तर, गृहमन्त्रीले बलियो अड्डी कसेपछि रास्वपा निकै समस्यामा परेको देखिन्छ।अब रास्वपा जति उफ्रिएपनि,जति कराएपनि केही हुनेवाला छैन।
किनकि तथ्य र प्रमाणहरुले सबै कुराको छिनोफानो गर्दै जाने हो। गृहमन्त्रीलाई जोडिएको यो प्रकरणमा यथेष्ट प्रमाणहरु सार्वजनिक भएका छैनन्।
रास्वपाले गृहमन्त्रीको राजीनामाको सट्टा निष्पक्ष छानबिन गरौं भन्ने ल्याकत राख्नुपर्ने थियो । निष्पक्ष छानबिनपछि दोषी देखिएको खण्डमा गृहमन्त्री स्वयम्ले राजीनामा दिइनै हाल्थे । त्यो ल्याकत रास्वपाले राख्न सकेन । रास्वपाले हल्लाका भरमा सभापति रवि लामिछानेको प्रसंग उप्काउँदै गृहमन्त्रीको राजीनामा माग्यो। अहिले सो पार्टीको कच्चापनले फेल खाएको छ । त्यसको प्रष्टिकरण स्वयम् गृहमन्त्रीले नै दिइसकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षमा थुनामा पठाएपछि रास्वपाका सांसद र नेताहरू तनाबमा छन् । रास्वपाका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका बेला माओवादी, नेकपा (एकीकृत समाजवादी)का सांसद र नेताहरूले समेत लेखकलाई राजीनामा दिन नपर्ने बताउन थालेका छन् ।
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बुधबार पत्रकार सम्मेलन गर्दै स्पष्ट पारेर आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको दाबी गरेका हुन्।
सबैभन्दा पहिलो यो विषय भिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा आएका छन्। यो असत्य कुरा हुन्,यो बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन,गृहमन्त्री लेखकले भनेका छन्। साथै, उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताएका छन्।
मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ, लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु।
भिजिट भिसा प्रकरणमा सर्वसाधारणबाट करोडौं असुली भइरहेको सन्दर्भमा विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग तुलना गरेर गृहमन्त्री लेखकको राजिनामा माग गरिनु उचित विषय भने होइन।
रवि सहकारी प्रकरणमा आफै जोडिएका थिए भने गृहमन्त्री लेखक कुनै पनि काण्डमा आफै संलग्न भने देखिदैनन्।त्यसैले गृहमन्त्री लेखकले राजिनामा दिहाल्नु पर्ने अवस्था भने न रहेको प्रतिपक्षका सांसद प्रेम आलेले नै सार्वजनिक रूपमै भनिसकेका छन्,भने माओवादीका नेता तथा पूर्वसांसद रामनारायण बिडारीलगायतका नेताहरूले पनि गृहमन्त्रीले राजिनामा दिहाल्नु पर्ने अवस्था भइनसकेको ठोकुवा गरेका छन्। उनिहरूले भनेका छन् यो राजनीतिक प्रतिशोध बाहेक अरू केही नभएको दाबी गरेका छन्।
सत्तापक्षका नेताहरूले त गृहमन्त्रीको कुनै पनि हालतमा राजिनामा नआउने स्पष्ट निर्णय नै गरिसकेका छन्।उनिहरूले यो राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षका नेताहरूले षड्यन्त्र गरिरहेको निष्कर्ष नै निकाली सकेका छन्।र गृहमन्त्री लेखकले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन नै गरेर आफ्ना कुराहरू स्पष्ट राखेपछि अध्यागमनमा के भएको रहेछ भन्ने कुरा घाम जस्तै छर्लंग भइसकेको छ।
गृहमन्त्रीले यो विषय जोडतोडका साथ उठेपछि केही दिन पछि सानो भिडियो क्लिप सार्वजनिक गर्दै आफ्नो कुनै संलग्नता नरहेको र कोही कसैले पुष्टि गरे पदबाट मात्र होइन राजनीतिक जीवनबाटै राजिनामा दिने घोषणा गरेका थिए।
प्रतिपक्षका सांसदको पनि गृहमन्त्री लेखकलाई साथ
गृहमन्त्री रमेश लेखकलाई प्रतिपक्षका सांसदहरुले पनि साथ दिन थालेका छन्। भिजीट भिसा प्रकरणमा अध्यागमन विभागको विमानस्थल कार्यालय प्रमुख तीर्थराज भट्टराई लाई पक्राउ गरेको अख्तियारले हाल हाजिरीजमानीमा राखेर अनुसन्धान गरिरहेको छ। भट्टराई माथी भइरहेको अनुसंन्धानको कारण देखाउँदै प्रतिपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन्। उनीहरुले संसद बैठक पनि अवरुद्ध पार्दै आएका छन्।
तर कर्मचारीले गरेको गल्तीको दोष मन्त्रीले लिन नसक्ने भन्दै प्रतिपक्ष दलकै सांसदहरुले गृहमन्त्रीलाई साथ दिन थालेका छन् । डोटीबाट निर्वाचित एकिकृत समाजवादीका सांसद प्रेम आलेले गृहमन्त्री लेखकले दोषी नभएरै राजीनामा दिन नहुँने तर्क गरेका छन् । दोषी देखिएपछि मात्र राजीनामा दिनुपर्छ। नभए दिन हुँदैन।
उनले भने ,गृहमन्त्रालय अन्र्तगत एक लाख त प्रहरीहरुनै छन् । कुनै एउटा÷दुईटाले गल्ती गर्नासाथ मन्त्रीलेनै राजीनामा दिनुपर्छ त पर्दैनन नी? गृहमन्त्रीको गल्ती भएपछि राजीनामा माग्न स्वभावीक भएपनि एउटा कर्मचारीले गल्ती गर्दा सरकारलेनै राजीनामा दिनुपर्ने राम्रो कुरा नभएको बताए । दोषी नभइकन राजीनामा दिनुनपर्ने उनले बताए ।
नेपाली राजनीतिज्ञ रामनारायण विडारी पनि गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताउँछन् । कर्मचारीको गल्तीमा हाकिम र मन्त्री समात्न नहुँने तर्क उनले गरे । रवि लामिछानेको जस्तो अहिलेका गृहमन्त्री रमेश लेखकको केहि पनि केश नभएको उनले बताए।
रविलाई मुख्य अभियुक्त बनाइएको तर लेखकलाई शंका मात्र गरिएकोले रविको केशसंग दाज्न नमिल्ने उनको भनाई छ। अध्यागनमका कर्मचारीमाथी पनि अनुसंन्धान जारी रहेकोले यो विषयमा अहिलेनै गृहमन्त्रीको राजीमाना माग्न नहुँने उनको भनाई छ।
प्रतिपक्षी दलका सांसदहरुले पनि गृहमन्त्रीको साथ दिएपछि रास्वपाले प्रतिसोध साध्नको लागि मात्र गृहमन्त्रीको राजीनामा मागिरहेको बुझिएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृह मन्त्रालयअन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन्। उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
यद्यपि, कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ। गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्नेबित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने उनको भनाइ छ।
