भिजिट भिसा प्रकरणले एक्लिदै रास्वपा,गृहमन्त्रीलाई प्रतिपक्षकै सांसदहरूको दरिलो साथ
यतिबेला राजनीतिक बजारमा निकै चर्चित विषय हो भिजिट भिसा प्रकरण । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै यसले थप माहोल बढाएको देखिदैछ । विपक्षी दलहरुले गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा माग गरिरहेका छन् । यो प्रकरणमा स्वयम् गृहमन्त्रीले नै संसदमा प्रष्टिकरण दिन खोजेपनि विपक्षी दलहरुको अवरोधका कारण सम्भव भएन । त्यसपछि उनले पत्रकार सम्मेलनमार्फत यो प्रकरणमा केही स्पष्टिकरण दिएका छन् । उनले सो स्पष्टिकरणमा आफू निर्दोष रहेको र राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।
भिजिट भिसा प्रकरणबारे विपक्षी दलहरुले राजनीतिक दाउपेच हेरिरहेको स्पष्ट हुन्छ । विपक्षी दलहरुले यो प्रकरणमा सामाजिक सञ्जालमा आएका सामग्रीलाई आधार बनाइरहेका छन् । सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा यो प्रकरणमा जोडिएका सहसचिव तीर्थ भट्टराईले गृहमन्त्रीलाई ५० लाख बुझाउने गरेको बयान दिएको भन्दै अफवाह फैलाइएको थियो । त्यो अफवाहलाई स्वयम् अख्तियारले नै मात खुवाइदिएको छ । अब विपक्षी दलहरुले तथ्यमा टेकेर नभइ हल्लाका भरमा गृहमन्त्रीमाथि दबाब बढाएको देखिन्छ । यसमा खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अग्रपंक्तिमा रहेको छ । रास्वपाले गृहमन्त्री लेखकमाथि सरासर राजनीतिक प्रतिशोध राखेको बुझ्न कठिन छैन । अघिल्लो सरकारको पालामा पार्टी सभापतिको सहकारी काण्डको बदला लिन रास्वपाले गृहमन्त्रीमाथि दबाब बढाइरहेको छ । तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी काण्डमा मुछिएका मात्र थिएनन् उनीविरुद्ध विभिन्न स्थानमा उजुरीसमेत परेको थियो । उजुरी परेको व्यक्तिलाई गृहमन्त्रालयको नेतृत्व सुम्पिरहँदा अनुसन्धान प्रभावित हुने भन्दै त्यतिबेला नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेको थियो । जसको अग्रपंक्तिमा थिए गृहमन्त्री रमेश लेखक । त्यतिबेला उनले संसदमा बोलेको विषयलाई फरक अर्थ लगाएर अहिले प्रचार गरिँदै आइएको छ । वर्तमान गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा अनावश्यक रुपमा मुछन थालिएको छ । यो प्रकरणमा गृहमन्त्री विरुद्ध न कतै उजुरी परेको छ न कतै अनुसन्धान नै अघि बढेको छ । खाली हल्लाका भरमा उनको राजनीतिक भविष्य नै धरापमा पार्ने खेल भइरहेको छ ।
यसमा सबैभन्दा बढी कच्चा खेल रास्वपाले नै चलाएको छ । सुरुमा भिजिट भिसामा गृहमन्त्री संलग्न रहेको भन्दै राजीनामा माग्ने त्यही पार्टी थियो। अहिले त्यही पार्टीले भिजिट भिसामा ठगिएका प्रमाणहरुका लागि हारगुहार गरिरहेको छ । सामाजिक सञ्जालको अफवाहमा धारणा बनाउन माहिर रास्वपाका नेताहरु अहिले रनभुल्लमा परेको देखिन्छ । उनीहरुले आफ्नो सम्पर्क नम्बर र इमेलमार्फत प्रमाणहरु जुटाउन लागिरहेको देखिन्छ । यो विषय गृहमन्त्रीको राजीनामा माग्न तम्सिनुभन्दा पहिले अघि बढाउनुपथ्र्यो । ठूलो स्वर गरेर, चिच्याएरै गृहमन्त्रीको पद खुस्काउन सकिन्छ भन्ने भ्रममा रास्वपाका सांसदहरु तम्सिएका थिए । तर, गृहमन्त्रीले बलियो अड्डी कसेपछि रास्वपा निकै समस्यामा परेको छ। अब रास्वपा जति उफ्रिएपनि, जति कराएपनि केही हुनेवाला छैन । किनकि तथ्य र प्रमाणहरुले सबै कुराको छिनोफानो गर्दै जाने हो । गृहमन्त्रीलाई जोडिएको यो प्रकरणमा यथेष्ट प्रमाणहरु सार्वजनिक भएका छैनन् ।
रास्वपाले गृहमन्त्रीको राजीनामाको सट्टा निष्पक्ष छानबिन गरौं भन्ने ल्याकत राख्नुपर्ने थियो । निष्पक्ष छानबिनपछि दोषी देखिएको खण्डमा गृहमन्त्री स्वयम्ले राजीनामा दिइनै हाल्थे । त्यो ल्याकत रास्वपाले राख्न सकेन । रास्वपाले हल्लाका भरमा सभापति रवि लामिछानेको प्रसंग उप्काउँदै गृहमन्त्रीको राजीनामा माग्यो । अहिले सो पार्टीको कच्चापनले फेल खाएको छ । त्यसको प्रष्टिकरण स्वयम् गृहमन्त्रीले नै दिइसकेका छन् ।
