गलतलाई गलत भन्नै नसके हामी विपीका अनुयायी हुँदैनौँ: नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले गरेको गलत कामलाई लगत भन्न सक्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भए पनि गलत काममा मौन बस्न नहुने बताए।

‘हामी सरकारमा छौँ तर सत्तामा छैनौं। राज्यको सत्ता बेग्लै कुरा हुन्छ। मन्त्रीहरूले सहकार्य गरून् तर बाहिर बसेका हामीले असललाई असल र खराबलाई खराब भनौँ’, नेता कोइरालाले भने, ‘राम्रो कामलाई हामीले राम्रो भन्नुपर्छ तर गलत कामलाई गलत भन्नै नसक्ने हो भने हामी विपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुँदैनौं।

कोइरालाले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे। नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको बुझाइ छ।

‘युवाहरू निराश छन्, उनीहरूको बाटो खोजिरहेका छन्’, उनले भने, ‘उनीहरूले देख्या छैनन् राजाको शासन काल। उनीहरूले यही तीनजनाको म्युजिकल चियर मात्रै देखेका छन्। यो कुरालाई हामीले मनन गर्न सक्नुपर्छ।