बुधवार जेलमुक्त भएका अफताब आलमलाई मस्तिष्कघात
काठमाडौं । बुधवार जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। आज बिहान ७ बजे मस्तिष्कघात भएपछि उनका परिवारले बिहान १०स्३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरेका छन्। उनको हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोट र त्यसपछिको हत्याकाण्डमा संलग्न भएको आरोपमा जेल परेका थिए।
संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमको योजनामा बम बनाउने क्रममा विस्फोट भएको थियो, जसमा दुई जनाको मृत्यु भएको र ११ जना घाइते भएका थिए। घाइतेहरूलाई उनले आफन्तको इँटाभट्टामा ज्युँदै जलाएर हत्या गरेको अभियोग लागेको थियो।
पीडितका आफन्त शेख रुक्सना खातुन र श्री नारायण सिंहले दिएको जाहेरीमा आलममाथि १४ जनाको हत्या गरेको आरोप थियो। १२ वर्षपछि २०७६ असोज २७ गते उनी पक्राउ परेका थिए। जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा उनलाई जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालत वीरगञ्जले २०८२ जेठ १४ गते सफाइ दिएको थियो।
