ललितपुरमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर सम्पन्न, अधिकांशमा सुगर र प्रेसर

ललितपुर। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजन तथा पत्रकार महासंघ ललितपुरको समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो।

स्वास्थ्य शिविरमा विभिन्न नसर्ने रोगहरूको परिक्षण, भिडियो एक्सरे, मुटु तथा मृर्गौला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटि, एलएफटि, सिबिसी, स्त्री लगायत रोगको निःशुल्क परीक्षण गरिएको थियो। शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परिक्षण गरि लाभान्वित भएको बताए। उनले शिविर निक्कै प्रभावकारी भएको र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएको जनाए।

परिक्षण गरेका पत्रकारहरू मध्ये अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको पाइएको छ। ७७ मध्ये २७ जनामा सुगरको लक्षण र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका डा.अमरदिप साहले जानकारी दिए। पत्रकारहरू अरूलाई सुचना र खबरदारी गर्न दिनरात खटिरहदा आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेको उनको भनाई छ।

बज्रबराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा.अंकुर पौडेलले पत्रकारहरू आफ्नो स्वास्थ्यमा सचेत हुन आवश्यक रहेको उल्लेख गरे।

जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा.भुवन पौडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूको लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे। उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्वता समेत जनाए।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकोमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे। उनले शिविर उदाहरणिय रहेको भन्दै अन्य जिल्लाहरूले पनि सिकेर अघि बढ्नुपर्ने बताए।