देशैभर चर्चामा रहेका मेयर बालेन गम्भीर मोडमा,उनका विश्वासपात्रमाथि धमाधम कारबाही
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो कार्यकालको सुरुवाती चरणमा कामका कारण देशैभरि चर्चामा रहे। तर पछिल्लो समय उनी चौतर्फी घेराबन्दीमा परेका छन्।
यही कारण उनले हाँकेको काठमाडौं महानगरपालिका अपेक्षित रूपमा चलायमान हुन सकेको छैन। अब आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजन गर्ने पूर्वसन्ध्यामा मेयर बालेन अल्पमतमा पर्दा समयमै बजेट पारित हुनेमा समेत गम्भीर आशंका उब्जिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चौतर्फी घेराबन्दीपश्चात् अन्ततः एक्लिएका छन्। बाहिरबाट हेर्दा मेयरका रुपमा देखिएका बालेन, भित्री रूपमा सामान्य निर्णयसमेत गर्न नसक्ने निरीह अवस्थामा पुगेको विश्लेषण हुन थालेको छ।
कुनै समय काठमाडौं महानगरको नगर प्रहरीको कमान्ड चुस्तदुरुस्त रूपमा सम्हालिरहेका र मेयर बालेनका विश्वासपात्र मानिएका एसएसपी राजु पाण्डेमाथि ६ महिनाको निलम्बनको कारबाही हुँदा पनि मेयर बालेन मौन छन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण सोधेर निलम्बन गरेसँगै काठमाडौं महानगरभित्र मेयर बालेन पूर्णरूपमा एक्लिएको स्पष्ट हुन्छ।
बालेनका विश्वासिला पात्र पाण्डेलाई कारबाही गरिएसँगै उनलाई साथ दिइरहेको नगर प्रहरी पनि उनको पकडभन्दा बाहिर पुगेको छ। प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको घटनालाई आधार मान्दै एसएसपी पाण्डेलाई कारबाही गरेका हुन्।
बढीमा ६ महिनाका लागि पाण्डेलाई निलम्बनमा राख्दै गुरागाईंले नगर प्रहरीको तत्कालीन नेतृत्व एसपी विष्णु जोशीलाई सुम्पिएका छन्।बालेनका लागि बलियो समर्थन र साधनका रूपमा रहेको महानगर प्रहरी उनको नियन्त्रणभन्दा बाहिर पुगेको छ।
आफ्नै सचिवालयबाट अधिकांश काम सञ्चालन गरिरहेका मेयर बालेनले कर्मचारी र जनप्रतिनिधिलाई विश्वासमा लिन सकेका छैनन्, जसले गर्दा अब बालेनको महानगर यात्रा थप कष्टपूर्ण हुने निश्चितप्रायः छ।
बालेनकै निर्देशनबमोजिम गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय आउन नदिन पाण्डेको नेतृत्वमा नगर प्रहरी परिचालित भएको थियो ।
तर, जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई बलपूर्वक कार्यालयमा पुनस्र्थापित गराएका थिए । ढोका फुटाएर कार्यकक्ष प्रवेश गरेका प्रशासकीय अधिकृत गुरागाईं र मेयर बालेनबीच लामो समयदेखि गहिरो मतभेद छ।
हाल उपमेयर सुनीता डंगोलसँग पनि बालेनको सम्बन्ध सौहार्दपूर्ण छैन। सुरुका दिनहरूमा बालेनको हरेक निर्णयमा मौन समर्थन जनाउँदै आएकी उपप्रमुख सुनीता हाल भने बालेनको विपक्षमा खुलेआम बोल्न थालेकी छन्। जसले बालेन र सुनीताबीच आन्तरिक दरार गहिरिएको प्रमाणित हुन्छ ।
आपसी समन्वयमा महानगर चलाउनुपर्ने प्रमुख तीन व्यक्तिहरू (मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत) बीच नै चरम अविश्वास र असमझदारी उत्पन्न भएपछि महानगरका महत्त्वपूर्ण कामकारबाही प्रभावित बनिरहेका छन्।
लामो समयदेखि कार्यपालिका बैठकसमेत बस्न सकेको छैन। काठमाडौंका अधिकांश वडाध्यक्षहरू बालेनको विपक्षमा उभिएका छन्। उनीहरूले बालेनको कार्यशैली अलोकतान्त्रिक, अपारदर्शी र स्वेच्छाचारी रहेको भन्दै निरन्तर विरोध गर्दै आएका छन्।
बालेनले जनप्रतिनिधि र कर्मचारीहरूलाई उपेक्षा गर्दै सचिवालयमार्फत महानगर चलाउन खोजेको उनीहरूको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत निरन्तर सरकारविरुद्ध अभिव्यक्ति दिइरहँदा एमाले–कांग्रेससम्बद्ध वडाध्यक्षहरू थप रुष्ट बनेका छन् ।
साथै, सम्बन्धित पार्टीहरूले पनि आफ्ना वडाध्यक्षहरूलाई बालेनको विपक्षमा उभिन निर्देशन दिने गरेको छ । बालेनले काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका नवीन मानन्धरलाई कारबाहीको प्रक्रिया अघि बढाउँदा उनी पनि बालेनको विपक्षमा देखिएका छन् ।
बालेनलाई महानगरका कर्मचारीहरूको पनि समर्थन छैन । प्रमुख प्रशासकीय अधिकृतलाई बिनाआधार भ्रष्टाचारी करार गर्न खोजेकोमा कर्मचारीहरू बालेनसँग असन्तुष्ट छन्।
गुरागाईंलाई कार्यालयमा पुनस्र्थापित गराउन कर्मचारीहरूले जनप्रतिनिधिलाई बलियो साथ दिएका थिए। यसरी कर्मचारी र जनप्रतिनिधिको विश्वास गुमाइरहेका बालेनले कार्यपालिका बैठक बोलाउन सकिरहेका छैनन्।
महानगर कार्यपालिका बैठक महिनामा एकपटक बस्नुपर्ने कानुनी प्रावधान भए पनि विगत ५ महिनादेखि बस्न सकेको छैन। निकटस्थ स्रोतका अनुसार प्रशासकीय अधिकृतमा गुरागाईं रहुन्जेल कार्यपालिका बैठक नै नराख्ने बालेनको रणनीति रहेको बुझिएको छ।
तर, अब छिट्टै महानगरको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले बालेन चर्को दबाबमा छन्। कार्यपालिकाभित्र अल्पमतमा परेकाले पनि बालेन बैठक बोलाउन हिच्किचाइरहेका छन्।
उनी कार्यपालिका बैठकबाट आफूले चाहेका निर्णयहरू गराउन सक्ने अवस्थामा छैनन्। यसले गर्दा बालेन हाल मेयरको कुर्सीमा भए पनि शक्तिहीन र निरीह बनेका छन्।
फलस्वरूप, उनले हालसम्म आफ्नो अनुकूलतामा चलाइरहे जस्तै गरी महानगर सञ्चालन गर्न पाउने अवस्था अब देखिँदैन। यसले बालेनको आगामी प्रत्येक कदम चुनौतीपूर्ण र संघर्षपूर्ण हुने निश्चित छ।
यदि मेयर शाहले आफ्नो कार्यशैलीमा आमूल परिवर्तन गरी विश्वासको वातावरण पुनर्निर्माण गर्न सकेनन् भने काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हाल्ने उनको यात्रा केवल नाम मात्रको हुनेछ र जनताका अपेक्षामाथि गम्भीर तुषारापात हुने निश्चित छ। यो अवस्थाले महानगरको समग्र विकास र सुशासनमा दीर्घकालीन नकारात्मक असर पार्ने छ।
