सुनसरीको घटनाले साम्प्रदायिक तनाव फैलिन सक्ने खतरा,सबै पक्षलाई संयमता अपनाउन सुवास कार्कीको आग्रह

काठमाडौं। सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति युवा व्यवसायी सुवास कार्कीले गम्भीर चिन्ता व्यक्त गर्दै यसले साम्प्रदायिक सद्भावमा असर पार्ने र भूराजनीतिक प्रभावसमेत निम्त्याउन सक्ने जोखिम रहेको बताएका छन्।

कार्कीले आफ्नो धारणा सार्वजनिक गर्दै देशको तुलनात्मक रूपमा शिक्षित र सचेत मानिने प्रदेशबाट यस्ता प्रकृतिका घटना सुरु हुनु र त्यसले उग्र रूप लिनु भविष्यका लागि चिन्ताजनक भएको उल्लेख गरेका छन्। उनले यस्ता घटनाले प्रदेशवासीका लागि लज्जास्पद अवस्था सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

उनले साम्प्रदायिक तनाव नियन्त्रणका लागि सुरक्षा निकायको बल प्रयोग मात्र पर्याप्त नहुने उल्लेख गर्दै विगतको दशक लामो सशस्त्र द्वन्द्वको अनुभवबाट पनि समस्या समाधानका लागि संवाद, संयमता र सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

कार्कीले राजनीतिक दल, सामाजिक संघ–संस्था, धार्मिक समुदाय तथा विभिन्न समूहलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै सुनसरीबाट सुरु भएको तनाव अन्य जिल्ला र प्रदेशमा फैलिन नदिन आन्तरिक पहल, संवाद र संयम अपनाउन अनुरोध गरेका छन्।

उनले सबै पक्षले सामाजिक सद्भाव, आपसी विश्वास र शान्तिलाई प्राथमिकतामा राख्दै सम्भावित साम्प्रदायिक भड्काव रोक्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।